नरैनापुर लागूऔषध तस्करी ‘ट्रान्जिट प्वाइन्ट’

उनलाई छुटाउन स्थानीय र भारतीयले प्रहरी चौकी घेरा हाले । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाइ फायर गर्नु परेको थियो । पक्राय परेका देवीदिन सामान्य कपडा व्यावसायी मात्र थिए । इलाका प्रहरी कार्यालय भगवानपुर मटेहियाका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्मासँग देवीदिनले प्रारिम्भक बयानमा आपूmलाई चरेश कारोबारमा फसाइएको भनेका छन् । उनको बयानले लागू औषध कारोबारको नयाँ तथ्य खुलेको छ ।
यो हाट बजारमा झण्डै एक सय ५० व्यापारी सामान बेच्न आउनेमा अधिकांश भारतीय नै हुन्छन् । मेलाका ग्राहक भने भारतीय र नेपाली दुबै हुन्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको लागू औषध नियन्त्रण व्यूरोलाई नेपालका पहाडी जिल्लामा उत्पादित चरेश र अफिम भारतीय व्यापारीमार्फत कारोबार हुने गरेको सूचना आएको थियो । त्यही आधारमा व्यूरो टोलीले निगरानी राखेर पक्राउ गरेको थियो ।
इप्रका भगवानपुरका अनुसार दुई वर्ष अघि कटकुइँयामा ५ किलो चरेशसहित एक जना पक्राउ परेका थिए । कपडा व्यापारीको पसलबाट ठूलो परिणाममा चरेश पक्राउ परेपछि नरैनापुरलाई ट्रान्जिट प्वाइन्ट बनाएर लागू औषध कारोबार भइरहेको आशंका गर्न सकिन्छ । यी दुई घटनापछि प्रहरीको लागू औषध नियन्त्रण व्यूरो तस्करले चरेश र अफिम लैजाने सजिलो नाकाका रुपमा नरैनापुर प्रयोग भएको आशंकामा निगरानी गरिरहेका छन् ।
राप्ती पारीका साबिक ९ गाविसलाई अहिले सिंगो नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको केही वडामा सिमित गरिएको छ । जहाँ नेपाल प्रहरीका भगवानपुर इप्रका र नरैनापुर इप्रकाका साथै सुँइया, लक्ष्मणपुर, कालाफाँटा गंगापुर र फत्तेपुर प्रहरी चौकी छन् । जहाँ मुस्किलले ६० प्रहरी छन्। सशस्त्र प्रहरीले कट्कुँइया, नरैनापुर र गंगापुरमा सीमा सुरक्षाका लागि वीओपीका गरी ९० जना शसस्त्र प्रहरी छन् । यति ठूलो क्षेत्रफलका लागि सुरक्षाकर्मी पर्याप्त होइन ।
सशस्त्र प्रहरीका जिल्ला प्रमुख भेषबहादुर शाह कमजोर सुरक्षा अवस्थाका कारण नरैनापुरलाई तस्करी र अपराध गर्ने थलो बनिरहेकोमा चिन्तित छन् । उनले भने, ‘सीमावर्ती गाउँसम्म सडक सुविधा छैन। चाहेर पनि सुरक्षा व्यवस्था गर्न गाह्रो छ ।’
भारतीय व्यापारी देवीदिन पक्राउ परेपछि प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ लाई चार घण्टा स्थानीय र भारतीयले घेराबन्दीमा पारेका थिए । उनले नरैनापुरमा सुरक्षा व्यवस्था कमजोर भएको नेपालगन्जमा पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
नरैनापुरमा रोशनपूर्वा, मतनियाँ, घरदौडिया जस्ता गाउँहरु नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै छन् । जहाँ दुबैतिर आँगनमै जंगेपिलर छन् । यस्ता ठाउँमा सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे भइरहेको छ । जसको फाइदा तस्करहरुले लिइरहेको प्रहरी बताउँछ ।
नेपाल प्रहरीको लागू औषध व्यूरो नेपालगन्ज शाखाका इन्सपेक्टर वीरबहादुर थापा नरैनापुर र नेपालगन्जमा नियन्त्रणमा लिइने लागू औषध गाँजा, चरेश र अफिम पहाडी जिल्लाबाट आउने बताउँछन् ।
उनका अनुसार प्रदेश ५ का रुकुम, सल्यान, रोल्पाका साथै कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, कालीकोट लगायतका जिल्लामा व्यवसायिक खेती गरी मुख्य बजार भारत हुने गरेको छ । प्रहरी अहिले ती जिल्लामा व्यवसायिक खेती नष्ट गरिरहेको इन्सपेक्टर थापाले प्रष्ट पारे ।
गत भदौको पहिलो साता दाङको अमिलियामा प्रहरीले ६० किलो र गत फागुनमा दाङमै ३५ किलो चरेश नियन्त्रणमा लिएको थियो । चरेशसहित पक्राउ पर्नेमा रुकुम, सल्यान र रोल्पाका व्यक्ति थिए । उनीहरुले चरेश भारतमा बेच्न लैजाने गरेको बताएका थिए ।
बाँके जिप्रका आउनु अघि दाङको तुलसीपुरमा काम गरेका बाँकेका निमित्त प्रहरी प्रमुख डीएसपी प्रकाश सापकोटा पहाडी जिल्लाबाट गाँजा, चरेश र अफिम भारततिर र भारतबाट ब्राउन सुगर, ट्याब्लेट जस्ता लागू औषधको कारोबार हुने गरेको बताउँछन् ।
उनी नरैनापुर क्षेत्रको बाटो हुँदै लागू औषध कारोबार भएको हुनसक्ने आशंका गर्छन् । उनले भने, ‘खुला सिमाना भएका कारण जंगलको बाटो हुँदै अवैध रुपमा हात हतियार भित्रिने खतरा पनि देखिन्छ । हामी चाँडै सुरक्षाकर्मीको संख्या बढाउने तयारीमा छौं ।