संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको टिप्पणी गर्नुभएको छ ।

खेमराज गुरुङ ट्रष्टले बुधवार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको बताउनुभयो । उहाँले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताउनुभयो । नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको भन्दै मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएकाले त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्रान्डिङ गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको समेत टिप्पणी गर्नुभयो । उहाँले श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने भन्दै सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।