हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् ।यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

नेवार समुदायमा छोरीको तीन पटक विवाह गरिन्छ। पहिलो ‘इहिं’ अर्थात् बेलसँग विवाह; दोस्रो ‘बारा तयेगु’ अर्थात् गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भनिन्छ र यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ।नेवार समुदायका महिलाले तिजको समयमा व्रत बस्नु पर्दैन किनकि नेवार कन्याको बाल्यअवस्थामा नै भगवान सुबर्ण कुमारसंग बैदिकतन्त्र निर्देशनअनुसार इही संस्कार सम्पन्न भई कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरेका हुन्छन्। यस्तो अवस्थामा तीजको व्रत लिई पुन: सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यक्ता हुँदैन भनिएकाे छ।

आजकल केही नेवार महिलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेकाे पनि पाईन्छ। रहरले यो व्रत बसेको हाे भने अर्कै कुरा, तर अज्ञानताबस बसेकाे हाे भने त्यो नेवारी परम्परा, संस्कृति र धर्म-संस्कारसंग मेल नखाएकाे मानिन्छ।