ललितपुर नगर प्रहरी आत्म सुरक्षाको लागि ‘छडी’ बोकेर ड्युटीमा खटिने
ललितपुर – ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरी छडीसहित ड्युटीमा खटिने भएको छ । आत्मसुरक्षाका लागि नगर प्रहरीलाई छडीसहित ड्युटीमा खटाउन थालिएको हो ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथूले यस नियमले नगरक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न थप मद्दत पुग्ने बताए । ‘नगर प्रहरीमाथि आक्रमण भयो वा कतै झडपको अवस्था भयो भने झडप नियन्त्रण गर्न वा आत्मसुरक्षा गर्न पनि कठिन भइरहेको छ,’ उनले भने, ‘त्यसैले अब ललितपुरको नगर प्रहरी छडीसहित ड्युटीमा खटिन्छन्, अवस्थाअनुसार छडी प्रयोग गर्छन् । म नगर प्रहरी प्रमुखको भूमिकामा नियुक्त हुनुअघि पनि लौरो बोक्ने नियम थियो । त्यसपछि लौरो बोक्ने नियम केही समय हटाइयो र अब आवश्यकताअनुसार पुनः छडी बोकेर ड्युटीमा खटिनुपर्ने बताए ।’
हाल ललितपुरको नगर प्रहरी २४सै घन्टा सुरक्षामा खटिँदै आएको छ । तर, कुनै पनि औजार नबोकी नगर क्षेत्रको सुरक्षामा खटिँदा आफूमाथि नै जोखिम हुने देखिएकाले नगर प्रमुख चिरिबाबु महर्जनले नै छडी बोक्न अनुमति दिएका थिए । यसअघि शनिबार भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका एक नगर प्रहरीमाथि आक्रमणसमेत भएको थियो । तर, आत्मसुरक्षा गर्ने कुनै पनि औजार उनीसँग थिएन । त्यस्ता आक्रमण रोक्न नगर प्रहरीलाई पनि आवश्यक औजार दिनुपर्ने ललितपुरका नगर प्रहरी प्रुमख हाछेथूले बताए । उनका अनुसार रातिको समयमा ड्युटी बस्दा सम्भावित आक्रमण तथा जोखिमबाट बच्न पनि छडीले सहयोग गर्छ । त्यस्तै, कतिपय ठाउँमा हुने आक्रमण र झडप नियन्त्रण गर्न पनि छडीको प्रयोग गर्न सकिन्छ ।