ललितपुर – ललितपुर महानगरले ४४ औं विश्व पर्यटन दिवसका अवसरमा ‘ललितपुर वाई नाइट’ नाम दिएर सोमबार सम्पदा रुटमा इभिनिङ टुर कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सम्पदा संघसँगको सहकार्यमा महानगरले पाटन ढोकादेखि पिम्बहाल, नकबहिल नागबाहल, हिरण्यवर्ण महाविहार हुँदै पाटन दरबार क्षेत्रमा पुगेर उक्त टुर पुरा भएको छ । यो कार्यक्रम मंगलबार पनि गरिनेछ । मंगलबार २:३०बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न देशका राजदुत, विदेशी नियोगका प्रतिनिधि लगायतको सहभागिता रहने उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले जानकारी दिए ।

इभिनिङ टुर अघिको पत्रकार सम्मेलनमा समितिका संयोजक एवम वडा नं.५का वडाअध्यक्ष श्रेष्ठले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरमा थप अन्तरिक र बाह्य पर्यटक ल्याउने यो दिवस महत्वपूर्ण हुने बताए ।

ललितपुर महानगरका पर्यटन सल्लाहकार दिलेन्द्र श्रेष्ठले ललितपुर महानगरले सोमबारदेखि बिहीबारसँग पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको जानकारी दिए ।

२७ सेप्टेम्बरका दिन प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाइन्छ । २७ सेप्टेम्बर यो वर्ष बिहीबार परेको छ । दिवसका अवसरमा सोमबार क्वाल्खुमा सम्पदासँग सम्बन्धित चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । मंगलबार र बुधबार र बिहीबार हिरण्यवर्ण महाविहारमा प्रवेश शुल्क निशुल्क गरिएको छ । मंगलबार २ ः ३० बजे आयोजना गरिएको हेरिटेज रुट वाकपछि पाटन म्युजियममा नेवारी लाइफ साइकलसम्बन्धी प्रस्तुति गरिनेछ । यसैगरी बुधबार र बिहीबार ज्यापु म्युजियममा पनि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विश्व पर्यटन दिवसको अवसरमा बिहीबार संस्कृति पर्यटन मन्त्रालयले ललितपुरमा कार्यक्रम आयोजना गर्नेछ । त्यसैगरी दिवसका दिन साँझ पाटनर दरबार क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।