ललितपुर – पर्यटन र हरित लगानी भन्ने मुल नारा सहित ललितपुरको पाटन दरबार क्षेत्रमा ४४ औं विश्व पर्यटन दिवस मनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा पाटनढोकादेखि शुरु भएको प्रभातफेरी पाटन दरबार क्षेत्र ललितपुरमा पुगेर समापन भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न नसक्ने भन्दै संशोधन गर्न आवश्यक रहेको बताएका छन्। मन्त्री किराँतीले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताउनुभयो । निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि र धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताउनुभयो ।पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको मन्त्री किराँतीले बताउनुभयो ।

नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र रिजालले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिँदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन्। उनले भने,‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ। नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौँ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको छाैँ।’ उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे। पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ।

ललितपुर महानगरपालिकाको उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले कला संस्कृति र पर्यावरणलाई जोगाइ राख्नको लागि अति आवश्यक रहेको बताउँनुभयो ।

ललितपुर महानगरपालिकाले तयार गरेको महानगर भित्रको पर्यटकीय स्थलहरुको नक्सा सहितको ब्रोसर सार्वजनिक गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा सामुदायिक होमस्टे संचालन गरि स्थानीय संस्कृति , स्थानीय उत्पादन ग्रामीण पर्यटन एवम् पर्यावरण मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको व्यवसायहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सम्मान गर्नुभयो ।

सम्मानित हुने व्यसायहरु

१)अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे, कावासोति, नवलपरासी
२)श्री सीता वर्ल्ड ट्राभल (नेपाल) प्रा.लि. काठमाडौँ,
३) श्री एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड, काठमाडौँ
४)श्री नेपाल वायु सेवा निगम, काठमाडौँ
५)श्री सेभेन समिट ट्रेक्स प्रा.लि.. काठमाडौं
६)श्री पोखरा अल्ट्रालाइट प्रा. लि.. पोखरा, कास्की
७)श्री लुम्बिनी ग्रीन रिसोर्ट, शिवराज न.पा., कपिलवस्तु
८)श्री क्रिष्टिन हरिला (नर्वे)

कार्यक्रममा ललितपुर महानगरपालिकाको तर्फबाट पञ्च बुद्ध नृत्यहरु प्रस्तुत गरिएको थियो ।

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ।आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो ।

४४ औं विश्व पर्यटन दिवस कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको पदाधिकारीहरु , नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु , नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष , मन्त्रालयका सहसचिवहरु,ललितपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , ललितपुर महानगरपालिकाका जनप्रतिनिधहरु लगायत अन्य विशिष्ट व्यक्तिहरु बाक्लो उपस्तिथि रहेको थियो ।