विद्युत् महसुल नतिर्ने उपभोक्ताको लाइन काट्दै प्राधिकरण


नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौता भुक्तानी नगर्ने उपभोक्ताहरूको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।
बक्यौता महसुल नदिने उपभोक्ताहरू बढेसँगै प्राधिकरणले लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको हो ।विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल सङ्कलन विनियमावली , २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क लाग्नेछ ।यस्तै, ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा रहेको छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा रहेको छ ।
सूचनामा तोकिएको समयमा महसुल नबुझाउने स्थानीय निकायहरूको विद्युत् लाइन काट्ने सम्बन्धमा प्राधिकरणले सम्बन्धित स्थानीय विद्युत् वितरण केन्द्रलाई निर्देशन दिइसकिएको छ ।