सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको सोमबार समापन गरिएको छ ।

नदी तथा तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अघ्र्य दिएर छठ पर्वको समापन गरेका हुन । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलई अघ्र्य दिएका थिए । काठमाडौंमा गुह्येश्वरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ । छठपर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए । तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अघ्र्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन रहेको छ ।