राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान, कानून र महासन्धिमा भएका प्रावधानहरुको पालना गर्न गराउन, बाल अधिकारको हनन्मा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्न, बालबालिकाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारको सुनिश्चितता गरी बाल अधिकारको रक्षा गर्न र बाल सुधार गृहको व्यवस्थित रुपमा सञ्चालनका लागि तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

‘बालबालिकाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारको सुनिश्चितता गरी बाल अधिकारको रक्षा गर्न र बाल सुधार गृहको व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ । साथै, बाल अधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढङ्गले कार्य गर्न समेत आयोग सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध छ’ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।