प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार्ने सरकारको प्रयासले केहिदिनमा मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दवावलाई अन्त्य गर्न आफुले गम्भीर गृहकार्य थालेको भन्दै सरकारको प्रयासले केहिदिनमा मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभएको हो ।

सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दवावमुक्त भन भइनसकेकाले सरकारले आवश्यक पहल लिएको उहाको भनाइ छ । उहाले संविधानमा व्यवस्था भएबमोजिम साझेदारीको मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक रहेको धारणा राख्नुभयोे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेसिने परिस्थितिले मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेकाले सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको बताउनुभयो । शिक्षा क्षेत्रमा अहिले देखिएको युवा विद्यार्थीहरुको विदेश पलायनको डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलार्ई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको उहाले बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा सुरु प्रदर्शनी मंसिर ९ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा चल्ने छ । प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगाएत चीन अमेरिका लगाएत १५ भन्दा बढि देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।