राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो । आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् ।

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिनुभयो ।अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको उहाँको भनाइ छ । सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील रहेको र सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउने दावी गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । राष्ट्रिय कर दिवसका सम्मानीत उत्कृष्ट करदातालाइ सरकारले एक वर्षका लागि विशेष प्रकारको परिचय पत्र उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ ।