निरञ्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

अमेरिकामा रहँदै आएका निरञ्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डीन, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कसराज, राजु गिलानीको अभिनय छ । सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।

म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली युवा–युवती र अमेरिकन युवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । फिल्ममा बलराम बुढाथोकीको छायांकन छ ।

विगत १० वर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका छन् ।यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए ।