ललितपुर – ललितपुर महानगरपालिका वडा नं.१२ र १९ मा मंसिर २४ गतेबाट मंगलबजार देखि लगनखेल क्षेत्रहरुमा फुटपाथ पसल राख्न निषेध गरिएको छ ।

ललितपुर महानगरपालिकाको व्यस्त स्थानहरूमा
फुटपाथ पसलले पैदल यात्रु , सवारी आवागमन तथा ऎतिहासिक एवम् सांस्कृतिक महत्त्वका स्थानहरुमा अवरोध परेको हुँदा फुटपाथ पसल राख्न निषेध गर्न वडा नं.१२ वडा नं.१९ र नगर प्रहरीको संयुक्त रुपमा र्‍याली गरिएको छ ।

पाटन दरबार क्षेत्र ओहोरदोहोर गर्ने मुख्य बाटो पनि हो । फुटपाथ तथा अन्य व्यापार–व्यवसायका कारण ओहोरदोहोरमा सास्ती हुने गरेको छ । फुटपाथ पसलले सडक नै छेक्ने गरी अवरोध गरेका कारण निषेध गर्न लागिएको ललितपुर महानगरपालिकाका वडा नं.१२ का वडा अध्यक्ष नारायण अवालेले बताउँनुभयो ।मंगलबजार देखि लगनखेल क्षेत्रमा बटुवा, सवारीसाधनको भिडभाड हुन्छ, अझ त्यसमाथि फुटपाथ पसल थाप्दा अस्तव्यस्त देखिने हुँदा ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने सडक व्यवस्थित बनाउन खोजे बताउँनुभयो ।’

अटेर गरेर जथाभावी फुटपाथ पसल राखेको पाएमा ललितपुर महानगरपालिकाद्वारा कानुन बमोजिम हदैसम्म कारवाही हुने जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष राजेन्द्र महर्जन ,वडा नं.१२ का वडा अध्यक्ष नारायण अवाले , ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेँथू , नगर प्रहरी , वडा जनप्रतिनिधिहरु लगायत व्यक्तिहरुको उपस्थित रहेको थियो ।