अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दावी गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफुले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दावी गर्नुभएको हो । आर्थिक वर्ष २०८०÷८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमश कार्यान्वयनका क्रममा रहेको उहाले बताउनुभयो

। सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको भन्दै उहाले यस अवधिमा पुँजीगत खर्च तर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिनुभयो । मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिनुभयो । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उहाले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको जिकिर गर्नुभयो । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउँदै लगिएको उहाले बताउनुभयो ।