ललितपुर – सानो पाईलाले संस्कृति संरक्षण एवम् प्रवर्द्धनको लागि मंगलबजार , भिमसेन मन्दिर अगाडि उद्योग वाणिज्य फल्चा ( पाटी ) मा य : मरि स्टल राखिएको छ ।य : मरि स्टल ( सोमबार र मंगलबार ) दुई दिन संचालन हुने छ ।

ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले सानो पाईलालेले संस्कृति संरक्षण एवम् प्रवर्द्धन लागि य : मरि स्टल राखेकोमा खुशी व्यक्त गर्नुभयो ।चिसो महिनामा सर्दी नलागोस भनेर नेवार समुदायहरुले य : मरि खाने चलन रहेको बताउँनुभयो ।

सानो पाईलाको अध्यक्ष ज्यापुनी इन्दुले य : मरि पुन्हीको अवसरमा हरेक वर्ष सानो पाईला नेपालले मंगलबजार , भिमसेन मन्दिर अगाडि उद्योग वाणिज्य फल्चा ( पाटी ) मा य : मरि स्टल राख्दै आएको बताउँनुभयो ।
हरेक वर्ष य : मरि स्टल राखी बिक्री वितरण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

सानो पाईलाको सचीव सुदर्शन महर्जनले य : मरि पुन्हीको उपलक्षयमा हरेक वर्ष सानो पाईला नेपालले परम्परा देखि चल्दै आएको संस्कृतिलाई जगेडा गर्ने मुख्य उदेश्यले स्टल राख्दै आएको बताउँनुभयो ।य : मरि प्रती गोटा ५० को दरले वितरण गर्दै आएको जानकारी दिनुभयो ।


य: मरि बनाउँदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । य: मरि मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको य: मरि बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिने सानो पाईला नेपालका पदाधिकारीहरुले बताए ।

सानो आईला नेपालले पुजाको लागि सानो य : मरि र खानको लागि ठुलो य : मरि बनाई बिक्री वितरण गर्दै आएको छ ।

य: मरिको परिचय

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (यःमरी) बनाएर खाने गर्दछन ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ। यःमरी खाइने भएकोले यसलाई य: मरि पुन्ही (य: मरि पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा य: मरि पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर य: मरि पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य: मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । य: मरि पुन्हीका दिनदेखि दिन लामो हुने र य: मरिको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

त्यस्तै य: मरि जस्तै आकारको एक पकारको फल पनि हुने गर्दछ। जसलाई य: मरि फल नै भन्ने गरिन्छ।

य : मरिको महत्व

नेवार संस्कृतिमा य: मरिको विशेष महत्त्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा य: मरि पुन्हीका दिन सबैले य: मरि सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म य: मरिको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुई वर्षमा दुई वटा, चार वर्षमा चार वटा यस्तै प्रकारले य: मरिको माला लगाइदिने चलन छ ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा य: मरि लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर य: मरि खसाल्ने चलन छ ।

नेवार समाजमा य: मरिको साँस्कृतिक एवं धार्मिक महत्त्व रहेको पाइन्छ ।