यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको व्यवस्था गर्न सुझाव दिएको छ ।

यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक अनुमतिपत्रको आवश्यकता रहेको भन्दै त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको सात सदस्यीय कार्यदलले हालै मात्र सरकारलाई आफ्नो सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सार्वजनिक सवारी चलाउनका लागि व्यावसायिक सवारी चालक अनुमतिपत्र र अन्य प्रकारका सवारी चलाउनका लागि साधारण अर्थात् गैर व्यावसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्थाको परिकल्पना गरेको छ ।

सवारीका भौतिक संरचना तथा प्रणालीहरू सम्बन्धी व्यवहारिक ज्ञान, सवारीमा उत्पन्न हुन सक्ने मुख्य खराबी पहिचान तथा मर्मत सम्भार गर्न सक्ने प्रयोगात्मक सीप, सार्वजनिक यातायात सम्बन्धी कानूनी प्रावधानहरू, यात्रु, रोजगारदाता अन्य सडक प्रयोगकर्ताहरूसँग गर्नुपर्ने व्यवहार तथा उनीहरू प्रतिको कर्तव्य सम्बन्धी ज्ञान सार्वजनिक सवारीका चालकहरूसँग पर्याप्त नभएको हुदा सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन यस किसिमको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।

हाल बस तथा ट्रक जस्ता सार्वजनिक सवारी चलाउने अनुमतिपत्रको लागि निवेदन दिन साना तथा मझौला सवारी चलाउने अनुमतिपत्र प्राप्त गरेको केही समय भएको हुनुपर्ने बाहेक अन्य कुनै विशेष व्यवस्था छैन ।