आगामी आर्थिक बर्षका लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ ।

शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उहाले जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले अर्धबार्षिक समिक्षामार्फत चालू आर्थिक बर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गर्नुभयो ।

यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको बजेटको लक्ष्य घटाउनुभएको थियो ।उहाले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दावी गर्नुभयो ।

उहाले सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताउनुभयो । अर्थमन्त्री महतले प्रधानमन्त्रीसंग कुनै विवाद नभएको र अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको जिकिर गर्नुभयो ।