प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूूह (इपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताउनुभएको छ ।

बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन ल्याएर संघीयतालाई बलियो बनाउनेमा आफ्नो जोड रहेको भन्दै केहि दिनभित्रै सदनमा पेश हुने जानकारी दिनुभयो । रुसी सेनामा रहेका नेपालीहरुको अवस्था बुझ्न रुस सरकारसंग छलफल भइरहेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मिटरव्याज, लघुवित्त र सहकारी पिडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो । बाँकी रहेका समस्या सरकारको कारणभन्दा अदालतीप्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको रहेको उहाले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले तराई मधेश द्रूतमार्गको प्रस्तान विन्दुको खोकना क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काममा सहमति खोज्ने काम भइरहेको बताउनुभयो । उहाले बैकल्पीक व्यवस्था गरि मेलम्ची खानेपानीको सहज आपूर्तिको व्यवस्था गरिएको भन्दै मेलम्ची खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले कुल २४ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये तीन वटा सम्पन्न भइसकेको र अन्यको पनि निर्माण तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संसदीय समितिले दिएको निर्देशन र सुझावहरुलाई सरकारले गम्भीरताका साथ लिएको बताउनुभयो । उहाले प्रदेश समन्वय परिषद्को बैठक बसेर संघीयता कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।