अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताउनुभएको छ ।

नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केहि समस्या देखिएपनि संकटको अवस्थामा भने नपुगेको बताउनुभएको हो । उहाले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको धारणा राख्नुभयो ।

एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति अहिले रहेको विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेको भन्दै मन्त्री पुनले अव विस्तारै लगानी पनि बढ्ने दावी गर्नुभयो ।

उहाले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको धारणा राख्नुभयो । मन्त्री पुनले आफ्नो कार्यकतालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने जिकिर गर्नुभयो ।

उहाले कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको जनाएको छ ।