नेपाल प्लाइउडमा आत्मनिर्भर बन्दै, कच्चा पदार्थ निर्यात हुँदा जोखिम बढ्यो

काठमाडौँ,कच्चा पदार्थको अभावले अर्बौंको लगानी रहेको निर्यातजन्य नेपाली प्लाउड उद्योग बन्द हुने अवस्थामा पुगेको छन्। नेपालका विकास पूर्वाधार एवं फर्निसिङमा आत्मनिर्भर बन्दै गएको प्लाइउड उत्पादनलाई चाहिने कच्चा पदार्थ नेपालबाट भारत बाहिरिँदा यहाँका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन्।

नेपालभर करिब ४००० करोड लगानीमा ८० वटा प्लाइउड सञ्चालनमा छन्। ती उद्योगहरू ७५% स्वदेशी नरम प्रजाति र छिट्टै बढ्ने रूखहरु (जस्तै उतिस, सौर, मौवा, मसला, कदम लगायतका काठ) प्रयोग गरी सञ्चालन भइरहेका छन्। केही वर्ष अगाडिसम्म भारतबाट आयात गर्नुपर्ने प्लाइउड हाल नेपालकै उद्योगबाट आत्मनिर्भर भई भारतका विभिन्न सहरमा निर्यात सुरु भएको छ।


नेपाल सरकारले प्लाइउड निर्यातमा अनुदान दिने व्यवस्थाका कारण आर्थिक वर्ष २०७९/०८० मा निर्यातमा उल्लेख्य वृद्धि भई ४७३ करोड पुगेको देखिन्छ भने चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ८०० करोडको निर्यात हुने अनुमान गरिएको छ।
तर प्लाइउड उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ भेनियर  (काठबाट निकालिएको पत्ता) अभाव हुँदा नेपालमा सञ्चालित उद्योग एकाएक बन्द हुने अवस्थामा पुगेका छन्। यसको मुख्य कारण प्लाइउड उत्पादनलाई चाहिने मुख्य कच्चा पदार्थ भेनियर भारत निर्यात हुनु हो। नेपालकै प्लाइउड उद्योगहरूमा माग बमोजिम कच्चा पदार्थको अभावमा कारखानाहरू पूर्ण क्षमतामा चल्न नसकिरहेको अवस्थामा भेनियर पत्ता दैनिक रुपमा भारत निकासी भइरहेको छ।
प्लाइउड तयार पार्नका लागि आवश्यक पर्ने कोर भेनियर नेपालका काँकडभिट्टा र विराटनगर भन्सारबाट दैनिक ३० ट्रक भन्दा बढी बाहिरिने गरेको छ।

यसरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ भेनियर पत्ता भारत जाँदा नेपालका उद्योगलाई २० वर्षका लागि पुग्ने कच्चा पदार्थ ६ महिनामा नै बाहिरिन्छ।

नेपालका काठ चिरान गरी निकासी गर्दा काठको मूल्यको २००% भन्सार महसुल लाग्छ भने सोही काठलाई राउडिङ चिरान गरी निकालिने पत्ताको भन्सार महसुल प्रति केजी ६ रुपैयाँ मात्र लाग्ने गर्दछ।
नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको एकीकृत भन्सार महसुल दरबन्दी आर्थिक वर्ष २०८०/०८१ मा उल्लेख भएको परिच्छेद ९ भाग ४ दशमलव ४ को शीर्षक नम्बर ४४ दशमल ०८ उपशीर्षक ४४०८ दशमलव ९० अनुसार उक्त दर रेटमा भेनियर पत्ता निकासी भइरहेको छ । यसका कारण नेपालमै उत्पादित रुखहरूबाट निस्केका चिरान काठ भन्दा भेनियर पत्ताको राजस्व दर कम हुँदा भारतले नेपालबाट प्लाइउड उत्पादनमा चाहिने मुख्य कच्चा पदार्थ खरिद गर्ने गरेको हो।
कोर भेनियरको भन्दा प्लाइउडको भ्यालु ५०० प्रतिशत बढी हुन्छ।

जसले गर्दा प्लाइउड बन्न प्रयोग हुने कच्चा पदार्थ निकासी भइरहँदा स्वदेशी प्लाइउड व्यवसायलाई गम्भीर असर पर्ने भएकाे भन्दै नेपाल प्लाइउड म्यानुफ्याक्चर एसोसिएसन (Nepal plywood manufacture association) सो कच्चा पदार्थ निकासीको भन्सार महसुल चिरान काठकै हाराहारीमा हुन आउने करिब रु २० प्रति केजी कायम गरी कच्चा पदार्थ निकासीलाई निरुत्साहित गरी तयारी मालवस्तु निकासीतर्फ प्रोत्साहन गरी स्वदेशी उद्योगलाई सहजता साथ सञ्चालन गर्ने वातावरण पार्नुपर्ने माग राखेको छ।

association का अध्यक्ष होमप्रसाद घिमिरे सहित उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान परराष्ट्रमन्त्री एमपी साउद, अर्थमन्त्री वर्षमान पुन,नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेकपा एमालेका नेता योगेश भट्टराई, पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडी लगायत लाई भेट गरी प्लाइउड उद्योगका पछिल्ला समस्याका बारेमा ध्यानाकर्षण समेत गराएका छन्।
कुनै पनि देशले यदि पर्याप्त मात्रामा तयारी मालवस्तु निर्यात भएको छ भने कच्चा पदार्थ निर्यातलाई निरुत्साहित गर्ने गर्दछ। तर नेपाल सरकार अर्थ मन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको देखिँदैन।

अर्बौँको लगानी भएका नेपाली प्लाइउड उद्योग बन्द हुँद प्रत्यक्ष रूपमा २५ हजार भन्दा बढीले रोजगारी गुमाउनुपर्ने हुन्छ।