ललितपुर – ललितपुर महानगरले २०७९सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई)मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।


महानगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ वटा विद्यालयका १४ जना विद्यार्थीलाई सम्मान स्वरुप नगद प्रदान गरे ।
सम्मानित हुने प्रत्येक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् ।


सम्मानित हुनेमा जेम्स स्कूल, सेन्टमेरिज स्कूल, नाइटिङ्गेल स्कूल,डिएभि स्कूल र ब्राइट फ्यूचर स्कूल रहेका छन् । जेम्स स्कूलका ८ जना विद्यार्थीले एसईईमा४ जिपीए ल्याएका छन् । आयुषा रेग्मी, अभिनव बस्नेत, अभ्युदय मान सिंह, अर्जित जोशी, विराज भुसाल, प्रणय गोविन्द अमात्य, श्रद्धा गिरी र शिलु रन्जित जेम्स स्कूलका विद्यार्थी हुन् । सेन्ट मेरिजकी छात्रा अतिदि सुबेदीले एसइइमा ४ जिपिए ल्याएकी हुन् । उत्सव झा र सुम्निमा घिमिरे २०७९ को एसईईमा चार जिपिए ल्याउने नाइटिङ्गेल स्कूलका विद्यार्थी हुन् ।
यसै गरी ४ जिपिए ल्याएर सम्मानित हुने डिएभी स्कूलकी आस्था ठाकुर। लिटिल एञ्जल्सकी आस्था पण्डित र ब्राइट फ्युचर स्कुलकी जेनिफर चौधरी छन् ।
विद्यालय र विद्यार्थीले सम्मान गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘मलाई दोस्रो पटक चुनाव जितेको दिन भन्दा पनि धेरै खुशी लागेको छ । ’ ललितपुर महानगर शिक्षा क्षेत्रको हब भएको बताउँदै महानगरले शैक्षिक गुणस्तर सुधारको लागि धेरै काम गरेको बताए ।
उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले सफल बन्ने र धनी बनाउने शिक्षा भन्दा खुशी र सीपयुक्त शिक्षामा महानगरले जोड दिएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले वर्तमान अवस्थामा पुस्तक पढेर लिने ज्ञान अपर्याप्त हुने बताउँदै तर्क गर्न सक्ने र सीप सहितको शिक्षा आवश्यक भएको प्रष्ट पारे । महानगरले जीवन र समाज बुझ्न सिकाउने शिक्षालाई प्रथामिकतामा राखेको उनले दाबी गरे ।
कार्यक्रममा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का,लिटिल एन्जल्सका प्रधानाध्यापक मुकुन्द शर्मा लगायतले मन्तव्य राखेका थिए ।