यही वैशाख १५ गते इलाम र बझाङमा भएका उपनिर्वाचनमा भएको खर्चबापत अर्थ मन्त्रालयले १० करोड रुपैयाँ थप निकासा गरेको छ।निर्वाचन आयोगको नियमित बजेटभन्दा बाहेक खर्च गर्न परेको भन्दै अर्थ मन्त्रालयले १० करोड रुपैयाँ थप निकासा गरेको हो। 

उपनिर्वाचनलाई भनेर बजेट विनियोजन नभएकाले निर्वाचन आयोगका लागि थप रकम निकासा गर्नुपरेको मन्त्रालयले जनाएको छ। प्रचलित कानुन र स्वीकृत मापदण्डबमोजिम खर्च गर्ने गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयमा बाँडफाँड हुने गरी थप रकम निकासा भएको मन्त्रालयको भनाइ छ। 

वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्य चयनका लागि बझाङ १ (क) मा उपनिर्वाचन भएको थियो।