जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएको छ । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए । सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।