स्मार्ट सिटी हुन विपद व्यवस्थापनलाई चुस्तदुरुस्त राख्छौं – प्रमुख महर्जन
ललितपुर/ ९ असाेज: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्मार्ट सिटी हुन विपद व्यवस्थापनलाई चुस्तदुरुस्त राख्छौं भन्ने धारणा राख्नुभएको छ ।
ललितपुर महानगरपालिकाकाे विपद व्यवस्थापन शाखाद्वारा आज बुधबार आयाेजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहुँदै नगरप्रमुख महर्जनले स्मार्ट सिटी हुनका लागि विपद व्यवस्थापनका कामहरु चुस्त दुरुस्त राख्नका लागि फिलिपिन्सबाट अग्नि नियन्त्रक बाेलाएर नगरप्रहरीलाई तालिम दिएकाे जानकारी गराउनुभयाे।
“विश्वमै विपद व्यवस्थापनमा जापान पहिलाे हाे, त्यसपछि फिलिपिन्स छ, हामीले फिलिपिन्सबाट अग्नी नियन्त्रकहरुलाई बाेलाएर तालिम दिएर सक्षम बनाएका छाैं, विपद प्रतिकार्यमा नेपालका २ सय ९३ नगरपालिका मध्ये नम्बर एकमा कायम रहन चाहन्छौं ।” उहाँले भन्नुभयो ।
उहाँले विपदकाे चार मिनेटभित्रै घटनास्थलमा दमकल र सम्बन्धि साधनहरु पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय विपदकाे मान्यतालाई कायम राख्दै काम गर्छौ भन्ने प्रतिवद्धता जनाउनुभयाे ।
“विपदका सबै कार्य एउटै छानामुनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हाे। तसर्थ पुल्चोककाे जुद्ध बारुण यन्त्रसंगै दमकल, एम्बुलेन्स, ् बहानलगायतका सामग्रीहरुकाे व्यवस्थापन गरिएको छ।” उहाँले भन्नुभयो ।
विपदकाे घटना हुनासाथ समयमै सुचना पाउनासाथ विगतका दिनहरुमा तत्कालै समस्या समाधान गर्न सकिएकाे बताउनुहुँदै आगामी दिनहरुमा यसलाई अझै प्रभावकारी बनाउन सकिने बताउनुभयो । नगरप्रमुख महर्जनले यहाँकाे विपद व्यवस्थापनले ललितपुर मात्रै नभएर काठमाडौंमा समेत काम गरेकाे वताउनुहुँदै विपद प्रतिकार्यमा समयसापेक्ष सुधार पनि गर्दै आएकाे जानकारी गराउनुभयाे ।
उहाँले विपदमा नहडबडाएर संयमित भएर काम गर्न आग्रह गर्नुभयाे। उहाँले चाडपर्व लक्षित विपद नियन्त्रणका लागि महानगरप्रहरी प्रमुखकाे नेतृत्वमा १० जना नगरप्रहरी परिचालन गरिएको जानकारी गराउनुभयाे । हाल महानगरमा १ सय २५ जना नगरप्रहरी कार्यरत रहेका छन्।उहाँले एलएमसी अलर्ट एपले धेरै समस्या समाधान गरेको र अन्य नगरपालिकाहरुले पनि यसलाई पछ्याउने चरणमा रहेको बताउनुभयो । उहाँले विपद व्यवस्थापनका काममा ध्यान दिएर समयसापेक्ष सुधार गर्दै लाग्छाैं भन्नुभयो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनताको जीउधनको सुरक्षा महानगरकाे मुख्य जिम्मेवारी रहेकाे भन्दै समयमा विपद व्यवस्थापन गर्न नसक्दा जनधनको धेरै क्षति हुने जानकारी गराउनुभयाे ।
“सानाे गल्तीले हुने हानी र अग्नीकाे व्यवस्थापन गर्न नसक्दा धेरै क्षति हुन्छ, अरुबाट पाठ सिकेर त्यही खालका गल्ती नदाेहाेरियाेस् भनेर सचेतना अभियान थालेकाे हाे।” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आगलागीबाट हुने घटनाबाट जाेगिन हरप्रहर सचेत रहन र घटनाघट्नासाथ विपद व्यवस्थापनका लागि सूचना प्रवाह गरेर नियन्त्रणमा लिएर क्षति हुनबाट बचाउन लागि पर्ने जानकारी गराउनुभयाे ।उहाँले विपदकाे समयमा ललितपुर महानगरकाे दमकलले जिल्लाभरका स्थानीय तहहरुलाई महत्त्वपूर्ण सहयाेग पुर्याएकाे जानकारी गराउनुभयाे। उहाँले जिल्ला विपद प्रतिकार्य याेजना र मनसुनजन्य विपद व्यवस्थापनका लागि काम गरिरहेको जानकारी गराउँदै रातीकाे समयमा पनि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेर काम गरेको बताउनुभयो ।उहाँले सचेतना अभियानकाे लागि महानगरलाई धन्यवाद व्यक्त गर्नुभयाे।
आगलागीबाट गत तीन वर्षमा महानगरभित्र ११ जनाले ज्यान गुमाउनुपरेको थियाे।—