काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १०४ देशसँग नेपालको व्यापार घाटामा गएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १३२ देशसँग वैदेशिक व्यापार भएको थियो । बाँकी २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ । 

यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ । भारतसँग २ खर्ब १६ अर्ब बराबरको व्यापार घाटा बेहोरेको विभागको तथ्यांकमा उल्लेख छ । 

भारतबाट २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा २४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । 

यसैगरी दोस्रोमा चीनसँग व्यापार घाटामा भएको  छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ५५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । यसकारण नेपालको चीनसँग ७८ अर्बभन्दा बढीले व्यापार घाटामा छ ।

यसैगरी तेस्रोमा युक्रेनसँग साढे ६ अर्बले व्यापार घाटामा रहेको छ । युक्रेनबाट नेपालले ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ३५ लाख २० हजार रुपैयाँको मात्रै निर्यात गरेको छ ।