‘हिंसाको कुनै सीमा हुँदैन, यसलाई लुकाउनु हुँदैन’ (भिडियो सहित)
ललितपुर/१४ मंसिरः लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतना अभियानमा धारणा राख्ने सरोकारवालाहरुले हिंसाको कुनै सीमा हुँदैन र यसलाई लुकाउनु हुँदैन भन्नेमा जोड दिनुभएको छ ।
महालक्ष्मी नगरपालिकाको आयोजनामा आज शुक्रबार यहाँ आयोजना भएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतना अभियानमा नगर प्रमुख हरिगाेबिन्द श्रेष्ठले हरेक टोल छिमेकमा कुनै न कुनै रुपको हिंसा भैरहेको हुन्छ भन्दै हिंसालाई सहने र लुकाउने प्रवृतिले झन ठूलो समस्या निम्त्याउने भन्दै यसलाई ढाकछोप गर्नु हुँदैन भन्नेमा जोड दिनुभएको छ ।
‘‘कुनै पनि हिंसा स्वीकार्य हुँदैन, लैङ्गिक हिंसा बिरुद्ध एक दिन अभियान सञ्चालन गरेर मात्रै हिंसा अन्त्य हुँदैन, हिंसा महिला वा पुरुष, बालबालिका वा जेष्ठ नागरिक जो कोहीलाई पनि हुन सक्छ, यस बिषयमा सचेत भएर ध्यान दिनुपर्छ ।’’ प्रमुख श्रेष्ठले भन्नुभयो ।
हिंसालाई लुकाउने, छिपाउने प्रबृतिले हिंसा गर्ने व्यक्तिमा मैले जे गरेपनि हुन्छ, कसैले पनि केही गर्दैन भन्ने मनोवल बढ्ने तर्फ सचेत गराउनुहुँदै उहाँले टोल छिमेकमा भएका र हुन सक्ने हिंसालाई उजागर गर्दै निष्कर्षमा पु¥याउन जिम्मेवार र जवाफदेही भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
नगर उपप्रमुख लक्ष्मी महर्जनले देश र गाउँ टोल र छिमेकमा केही गर्छु भनेर अगाडि बढिरहेका महिलाहरुका लागि सचेतना दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुका साथै हिंसामा परेकाहरुलाई सहयोग पुगोस भनेर नगरपालिकाले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
‘‘महिलाहरु थाहा पाएर वा नपाएर हिंसामा पर्ने गरेका छन्, वर्षभरिका ३ सय ६५ दिनहरुमध्ये १६ दिन मात्रै अभियान हुन्छ, तर हिंसा हुन नदिन, हिंसाबाट बच्नका लागि हामीले हरेक दिन सचेत रहनु र सचेत गराउनु पर्छ ।’’ उहाँले भन्नुभयो ।
बदलिंदो आधुनिक युगमा नदेखिने गरी सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट हिंसा भइरहने गरेको भन्दै यसतपर्ल सचेत भएर आफ्ना नानीबाबुहरुलाई हिंसामा पर्नबाट जोगाउनु पर्नेमा जोड दिनुभयो ।
महालक्ष्मी वडा नं. ४ का अध्यक्ष कपिल के.सी.ले हरेक क्षेत्रमा अन्य हुन नदिने र अन्यय नगर्ने अभियानलाई अगाडि बढाउँदै हिंसामा परेकाहरुलाई उद्धार गरी हिंसकलाई कानूनी दायरामा ल्याउन लाग्नुपर्ने स्थानीय समुदाय, महिला समूह, आमा समूहलगायत मिलेर लाग्नुपर्ने बताउनुभयो ।
वडा नंं ९ का अध्यक्ष जयकृष्ण बोगटीले महिला मात्रै नभइ पुरुषहरु पनि हिंसामा पर्ने भएकोले यसलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले महिला र पुरुष दुवैलाई हिंसामा नपर्न हिंसा नगर्नका लागि प्रेरित गर्ने बताउनुभयो ।––