राप्रपाका ८ उम्मेदवारले कटाएनन् १० मत

१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तहको उपनिर्वाचनमा कतै पनि प्रतिस्पर्धामा आउन सकेन । ४१ पदका लागि भएको चुनावमा राप्रपाले अधिकांश ठाउँमा उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये आठ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्षमा राप्रपाबाट मो मनान खाँ उम्मेदवार थिए । उनले जम्मा २ मत पाए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को उवाअध्यक्षका उम्मेदवार चन्द्र मणि दाहालले ३ मत ल्याए ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षका उम्मेदवार रामवालक साहले ४ मत पाए । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ का उम्मेदवार रत्न बहादुर श्रीपालीले पनि ४ मत मात्रै ल्याए ।

गुल्मीको मसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाकी इश्वरी खातीले ५ मत ल्याइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का उम्मेदवार राम कुमार यादवले ६ मत प्राप्त गरे ।

जाजरकोटको कुसे गाउँपालिका वडा नम्बर ७ मा राप्रपाका लाल बहादुर खत्रीले ८ मत पाए । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाका पहल बहादुर वलीले १० मत ल्याए ।

राजेन्द्र लिङ्देनकै जिल्लामा न्यून मत

राप्रपाका १० जना उम्मेदवारले १२ देखि २८ सम्म मत पाएका छन् । यसभित्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापा समेत पर्छ ।

झापाको कन्काइ नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद वली ४९३ मत ल्याएर विजयी भए । राप्रपाका उम्मेदवार सिटौलाले पाँचौँ स्थानमा रहँदै २६ मत पाए ।

गोरखाको गोरखा नगरपािलका– ५ मा राप्रपाकी कल्पना रानाले १२ मत ल्याइन् । दैलेखको दुल्लु नगरपालिका– १३ मा राप्रपाका रेशम बहादुर मल्ल उम्मेदवार थिए । उनले १३ मत पाए ।

दैलेखको महाबु गाउँपालिको अध्यक्षमा समेत राप्रपाका उम्मेदवार थिए । जहाँ एमालेका उम्मेदवार जंग बहादुर शाही तीन हजार १२७ मत ल्याएर विजयी हुँदा राप्रपाका उम्मेदवार सुर्जे रावतले जम्म ४७ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका– ७ मा राप्रपाका उम्मेदवार मदन शाहले १४ मत ल्याए ।

राप्रपाले उदयपुरको त्रियुगा नगरपालिका– १२ मा लाल वावु साहलाई उम्मेदवार बनाएको थियो । साहले १७ मत पाए ।

राप्रपाले कालीकोटको तिलगुफा र रौतहटको राजपुरमा पनि समान १७/१७ मत ल्याएको छ । तिलगुफा नगरपालिका– ४ मा गोगन बहादुर शाही उम्मेदवार थिए भने राजपुर नगरपालिका– ६ मा रामनारायण प्रसाद जयसवाल उम्मेदवार थिए ।

राप्रपाले धनुषा र उदयपुरमा समान २७/२७ मत पाएको छ । धनुषाको धनुषाधाम– १ मा रामदेव सिंह दनुवार उम्मेदवार थिए । उदयपुरको बेलका नगरपालिका– ९ मा टिका प्रसाद फुँयाल उम्मेदवार थिए । दुवैले जमानत जोगाउनसक्ने मत ल्याउन सकेनन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार खेम बहादुर थापाले २८ मत पाए ।

५० देखि एक सय मत ल्याउने उम्मेदवार राप्रपामा चार जना देखिए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा राप्रपाबाट संगिता शाही उम्मेदवार थिए । यहाँ माओवादीकी देवकी तिमिल्सीना एक हजार ६ सय ३७ मत ल्याएर विजयी हुँदा राप्रपाकी शाहीले जम्मा ५१ मत प्राप्त गरिन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को अध्यक्षमा राप्रपाबाट रत्न उम्मेदवार थिए । उनले जम्मा ५२ मत ल्याए ।

कीर्तिपुर नगरपालिका– १ मा राप्रपाका उम्मेदवार सुरेन्द्र प्रसाद उप्रेतीले ६४ मत ल्याए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा राप्रपाका उम्मेदवार इनताज अहमद धोवी ६६ मतमा सीमित भए ।

सुनसरीको गढी गाउँपालिका– ६ मा पनि राप्रपाको मत न्युन रह्यो । जहाँ कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मत ल्याएर निर्वाचित हुँदा राप्रपाका उम्मेदवार कविता कुमारी उरावले ८७ मत ल्याइन् ।

सय मत कटाउने ८ उम्मेदवार
उपनिर्वाचन लडेका राप्रपाका उम्मेदवारहरूमा एक सय मत कटाउने ८ जना छन् । राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उठाएको थियो ।

जहाँ नेपाली कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३३४ मत ल्याएर विजयी भए । राप्रपाका मेयर उम्मेदवार महर्जनले ९९५ मत पाए ।

कीर्तिपुर नगरपालिकाकै वडा नम्बर ४ मा राप्रपाबाट बिजेस बस्नेत उम्मेदवार थिए । उनले १४२ मत पाए ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट दिनेश कुमार थन्दार उम्मेदवार थिए । जहाँ माओवादी केन्द्रका नमो नारायण माझी ६ हजार ९६९ मत ल्याएर विजयी भए । राप्रपाका थन्दारले ५५५ मत प्राप्त गरे ।

राप्रपाले दोलखाको गौरीशंकार गाउँपालिकाको उपाध्यक्षमा मन कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । जहाँ एमालेका उमा लुङ्गेली मगर शेर्पा दुई हजार ८०५ मत ल्याएर विजयी भए । राप्रपाका उम्मेदवार श्रेष्ठले ११८ मत ल्याइन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ वडा का उम्मेदवार सतिश कुमार चौधरी थारुले १६५ मत ल्याए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राप्रपाका प्रेम बहादुर भोलनले १७८ मत पाए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा राप्रपाबाट सुसिल कुमार भट्ट उम्मेददवार थिए । भट्टले ३६९ मत पाए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि राप्रपाका उम्मेदवार थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रोजिना श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित भइन् । राप्रपाका उम्मेदवार श्याम कुमार श्रेष्ठले पाचौं स्थानमा रहँदै ७७४ मत प्राप्त गरे ।