बियोन्से २१ औं शताब्दीकै महान पपस्टार घोषित (सूचीसहित)

 अनलाइनखबर

 २०८१ मंसिर १९ गते १३:१६

काठमाडौं । बियोन्से २१ औं शताब्दीकै सबैभन्दा महान पपस्टार घोषित भएकी छन् । विश्वसंगीतको चर्चित म्यागजिन बिलबोर्डले बुधबार बियोन्सेलाई यो उपाधि दिएको हो ।

म्यागजिनले केही महिनादेखि हप्तैपिच्छे सूची सार्वजनिक गर्दै आइरहेको थियो । सूचीको दोस्रो स्थानमा टेलर स्विफ्ट छिन् । तेस्रोमा रिहाना, चौंथोमा ड्रेक, पाँचौमा लेडी गागा, छैटौंमा ब्रिट्नी स्पियर्स छन् ।

सातौंमा कान्ये वेस्ट, आठौंमा जस्टिन बिबर, नवौंमा एरियाना ग्रान्डे, दशमा एडेल, ११ मा असर, १२ मा एमिनेम, १३ मा निक्की मिनाज, १४ मा जस्टिन टिम्बरलेक, १५ मा माइली साइरस छन् ।

१६ मा जे जेड, १७ मा सकिरा, १८ मा द विकेन्ड, १९ मा बीटीएस, २० मा ब्रुनो मार्स, २१ लिल वेन, २२ मा वन डाइरेक्सन, २३ मा ब्याड बनी, २४ मा एड सिरन र २५ मा केटी पेरी छन् ।

सूचीमा भएका पपस्टारले २५ वर्षयताको पपसंगीतलाई परिभाषित गर्ने बिलबोर्ड म्यागजिनले उल्लेख गरेको छ । ‘बियोन्सेले हाम्रो सूचीमा शीर्ष स्थान कब्जा गर्नुका कारणहरू अनगिन्ती थिए’ बिलबोर्डले भनेको छ, ‘उनको २५ वर्षका कालजयी एल्बम र एकलदेखि लिएर, कलाकार तथा संगीतकर्मीको रुपमा उनले संगीत उद्योग र अन्य कलाकारमा प्रभाव छाडेकी छन् ।’

‘सायद सबै भन्दा महत्वपूर्ण पलहरू सिर्जना गर्ने उनको एकल क्षमता थियो । पप संस्कृतिको इतिहासको अभूतपूर्व क्षणलाई उनले आफ्नो स्टारडमको चौंथाइ शताब्दीमा सिर्जना गरिन् जुन पहिलो र प्रमुख रूपमा बियोन्से हुन् ।’

गत महिना, सुपरस्टार गायिका उनको आफ्नो एल्बम ‘काउब्वाय कार्टर’को लागि ११ विधामा मनोनयन हुँदै इतिहासमा सर्वाधिक मनोनित हुने गायिका बनिन् । उनले ३२ पटक ग्रामी जितेकी छन् । उनी करिअरभरि ९९ पटक मनोनित छिन् ।