मेरा लागि ‘मेरो समय’
मेरा लागि ‘मेरो समय’
संसारमा प्रत्येक ‘म’ अर्थात् ‘व्यक्ति’ फरक हुन्छन् । ‘मेरो समय’ अर्थात् आफ्नो लागि समय निकाल्नु भनेको व्यक्तिगत गतिविधिहरूको लागि छुट्टै क्षण छुट्याउनु हो जसले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र आध्यात्मिक स्वास्थ्यलाई पोषित गर्ने काम गर्दछ । जसमा पारिवारिक र सामाजिक उत्तरदायित्व, आफ्नो पेशा बाहेक आफूलाई आराम गर्न, पुनर्ताजगी र आफ्नो बारेमा विश्लेषण गर्न, आफ्नो मनोभावलाई नियाल्न, आफूलाई शान्त राख्न गरिने आत्म–हेरचाहसँग सम्बन्धित क्रियाकलापहरू पर्दछन् ।
मानिस एक सामाजिक प्राणी हो, ऊ समाजमा बस्छ, सामाजिक उत्तरदायित्व पालन गर्नु उसको कर्तव्य हो । यसका साथै परिवारमा बस्नु, परिवारका अन्य सदस्यहरूसँग समय बिताउनु, एकअर्कासँग भावना साटासाट गर्नु, एकलाई दुःख पर्दा अर्कोले मद्दत गर्नु आदि यथार्थपरक हुन् । यसका अतिरिक्त प्रत्येक व्यक्तिहरू एकआपसमा फरक हुन्छन् भन्ने पनि यथार्थ हो । प्रत्येक व्यक्तिको बानी–व्यवहार, सोच्ने शैली, जीवन र जगत प्रतिको दृष्टिकोण, समस्या समाधानका प्रक्रियाहरू पनि फरक हुन्छन् । तसर्थ येही फरकपनलाई चिन्न र एक पूर्ण व्यक्ति भएर जिउन ‘मेरो समय’ छुट्याउनु र सदुपयोग गर्नु अति आवश्यक हुन्छ ।
जसरी हाम्रो शरीर र दिमाग अन्तरसम्बन्धित हुन्छन्, अत्यधिक तनाव भएको बेला टाउको दुख्ने, पेट दुख्ने, शरीर आलस्य हुने आदि लक्षण देखिन्छन्; त्यसैगरी हाम्रो शरीरमा चोट लाग्यो भने हामी दुःखी, निराश, थकित महसुस गर्छाैं । त्यसैले हाम्रो शरीर र दिमागलाई बुझ्नु जरूरी छ र बुझ्नको लागि आफ्नो लागि समय दिनु आवश्यक हुन्छ ।