कालापत्थरको ढुंगामा जनकपुरको स्वामित्व
संसारकै सर्वोच्च सगरमाथा शिखर नजिकै रहेको कालापत्थरको ढुंगा राखेर बनाइएको एनपीएल ट्रफीमा तराई मधेसमा पर्ने महत्वपूर्ण नेपाली शहरको नाममा खुलेको जनकपुर बोल्ट्सले स्वामित्व दाबी गर्नु आफैंमा रोचक संयोग बन्न पुगेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।
त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।
काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।
आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।
ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।
प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए । र अन्तत: कालापत्थरको ढुंगाजडित पहिलो नेपाल प्रिमियर लिगको ट्रफी जनकपुर बोल्टस्को नाममा भएको छ ।