महाधिवेशन टुङ्गो नलाग्दै कांग्रेसमा दौडधुप
कांग्रेसका कतिपय नेताहरू किटानै गरेर २०८४ को निर्वाचनअघि महाधिवेशन नहुने बताइरहेका छन् तर, केही नेताहरू महाधिवेशन केन्द्रित देशदौडाहामा छन् ।
२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय टुंगो नलाग्दै पार्टी नेताहरूको जिल्ला दौडाहा भने सुरु भइसकेको छ । वर्तमान कार्यसमितिको अवधि तीन वर्ष पुग्दा नपुग्दै अर्को महाधिवेशन केन्द्रित भ्रमण र भेटघाटमा नेताहरू लागिसकेका छन् ।
क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य नसकी महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन । यसपटक विगतमा भन्दा क्रियाशील सदस्यता वितरण र नवीकरण छिटो सुरु भएको नेताहरू दाबी गर्छन् ।
नेताहरूका अनुसार केन्द्रबाट पठाइएको फर्महरू तल्लो तहले अड्काएर राख्दा नवीकरणले तीव्रता पाउन सकिरहेको छैन । सदस्यता व्यवस्थापन समितिले सदस्यता फर्म कुनै संरचनामा रोकिए केन्द्रबाट हस्तक्षेप गर्ने निर्णय पनि लिएको छ ।
महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले चैत मसान्तभित्र नवीकरण सक्ने निर्णय लिएको छ । उक्त समितिका सदस्य प्रकाश स्नेही रसाइलीले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने निर्णय भएको जानकारी गराए ।
कांग्रेसले संशोधित विधानअनुसार नयाँ महाधिवेशन गर्ने तयारी गरेको छ । यद्यपि, विधान मस्यौदा समिति बनाउने निर्णय भएपनि गठन भने गरिएको छैन । २०८२ सालको मंसिरभित्र महाधिवशेन सम्भव नहुनेमा संस्थापन पक्षका नेताहरू ढुक्क देखिन्छन् ।
नेता गोपालमान श्रेष्ठ त चारवर्षे अवधिभित्र महाधिवेशन नहुने ठोकुवा गर्छन् । ‘अर्को मंसिरमा महाधिवेशन हुँदैन । २०८३ को मंसिरमा हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।
मंगलबार नेता डा. शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए । ‘२०८४ सालमा आम निर्वाचन हुनेछ, त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो’ उनले भने, ‘होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ । निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने उनको तर्क थियो ।
कांग्रेसमा यी तीन नेता अब कता उभिएलान् ?
कोइरालासँगै सुदूरपश्चिम पुगेका केन्द्रीय सदस्य पोखरेलले महाधिवेशन समयमै हुन्न कि भन्ने कार्यकर्तामा चिन्ता रहेको सुनाए । ‘विधान अनुसार पार्टी चलेन भन्ने चिन्ता थियोे । समयमा अधिवेशन भएन भने पार्टी सकिन्छ भन्नेहरू पनि थिए’ पोखरेलले भने, ‘पार्टी निजी गुठी जस्तो भएको गुनासो धेरैको थियो ।’
कोइराला पक्षले १८ मंसिरमा पालिका सभापतिहरूको भेला बोलाएको थियो । उक्त भेलामा पनि कोइरालाले महाधिवेशनकै विषय प्राथमिकताका साथ उठाएका थिए ।
विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर कोइरालाले भने, ‘एउटा दबाब सिर्जना गर्नु जरूरी छ । … नत्र अधिवेशन हुने सम्भावना छैन ।’
जिल्ला भ्रमणको शृङ्खलालाई अर्का नेता एनपी साउदले पनि बढाएका छन् । १/२ महिनाको बीचमा नेता साउदले मधेसका चार र गण्डकी प्रदेशका दुई जिल्ला भ्रमण गरिसकेका छन् । बर्दियादेखि सुरु गरेर चितवनसम्म छिट्टै भ्रमण गर्ने योजना रहेको उनले साउदले सुनाए ।
आफ्नो भ्रमण महाधिवेशन लक्षित नभई संगठन सुदृढीकरणका लागि रहेको साउदले दाबी गरे । १५ औं महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदवार दिने चर्चा भए पनि साउदले अहिले नै बोल्ने अवस्था आइनसकेको बताउँछन् ।
साउद भन्छन्, ‘महाधिवेशनको तिथिमिति नतोकिकन यस बारेमा मैले निर्णय गरेको छैन । पहिले अधिवेशनको मिति तोकियोस्, त्यसपछि पार्टीका नेता र कार्यकर्तासँग छलफल हुन्छ ।’
नेतात्रय पुनः जुट्न थाले
नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा क्रमशः डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको संवाद फेरि सुरु भएको छ ।
पार्टीभित्र वृहत एकता गर्ने र तीन नेताको समूहलाई दीर्घकालीन बनाउने भन्दै तत्कालीन समयमा सैद्धान्तिक समझदारी बनेको बताइएको थियो । १४ औं महाधिवेशन अघि एकले अर्कालाई सघाएर सभापतिमा एकल उम्मेदवार हुने दाबी गरेपनि फरक फरक कित्तामा उभिए ।
निधि र सिंहले सभापतिमा उम्मेदवार दिए भने कोइराला केन्द्रीय सदस्यको प्रतिस्पर्धी बने । दोस्रो चरणको मतदानमा निधि र सिंहले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए । त्यसबेला तीन नेताले आ–आफ्नो निवासमा आलोपालो लञ्च मिटिङ गरेका थिए ।
गत असोजबाट तीन नेताहरू संवादको प्रक्रिया पुनः सुरु भएको छ । गत बुधबार उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहले चाक्सीबारीमा निधि र कोइरालालाई बोलाए ।
सिंहका स्वकीय यूपी लामिछानेले विगतकै निरन्तरताको क्रममा लञ्च मिटिङ भइरहेको र भविष्यमा पनि हुने बताए । लामिछानेका अनुसार एक्लाएक्लै हिंडेर नहुने निर्क्यौल तीन नेताले गरेका छन् ।
तीन नेताको भेटबारे लामिछानेले भने, ‘एक्लाएक्लै हिंडेर हुँदैन । तीन जना एकताबद्ध हुने, अरुलाई जोड्दै जाने र पावर शेयरिङ गरेर मिलेर जानुपर्छ भन्ने कुरा भएको छ ।’