यस्ता छन् जय ट्रफी एलिट कप खेल्ने चार टोली
यस्ता छन् जय ट्रफी एलिट कप खेल्ने चार टोली
२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबार (पुस २१)देखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा जय ट्रफी मेन्स एलिट कप २०८१ सुरू हुँदैछ ।
दुई दिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा च्याम्पियन नेपाल पुलिस क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब अनि दुई प्रदेशको टोली बागमती र मधेश छन् ।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपीएफ भने शीर्ष चार नपर्दा जय ट्रफी खेल्न नपाउने नपाउने भएको छ । जसले गर्दा रोहितसहित आसिफ शेख लोकेश बम सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन् ।
यसैगरी आईएल टी२० क्रिकेट खेल्न गएकोले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउनेछन् । दीपेन्द्र नहुँदा आरिफ शेखले पुलिसको कप्तानी गर्नेछन् ।
चोटका कारण मधेशका दुई प्रमुख खेलाडी अनिल कुमार शाह र पवन सर्राफ पनि जय ट्रफीमा देखिने छैनन् । प्रधानमनत्री कपमा मधेशका शीर्ष चारमा पुर्याउन अनिल र पवनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
मधेशले हरिशंकर शाहको कप्तानीमा जय ट्रफी खेल्नेछ । यस्तै आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
कस्ता छन् चार टोली ?
नेपाल पुलिस क्लब
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोली हो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा पिएम कपमा अपराजित रहँदै उपाधि जितेको पुलिसको टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । जय ट्रफीमा भने पुलिसको कप्तानी आरिफ शेखले गर्ने छन् । दिपेन्द्र प्रतियोगिताका लागि उपलब्ध नभएका कारण पुलिसको कप्तानमा आरिफ रहनेछन् ।
पुलिसमा आरिफ शेखसहित ललित राजवंशी, करण केसी, कुशल भुर्तेल, गुल्शन झाजस्ता राष्ट्रिय टोलीका नियमित खेलाडी छन् भने अर्जुन साउद, सागर ढकाल, राशिद खान, दिलिप नाथ, अभिनाश कर्णलगायतका राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी छन् । अन्य खेलाडीमा अमित श्रेष्ठ, शंकर राना, श्रवण यादव, सुनिल दौल्यान, दिपक सेरेला छन् ।
पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । उनी पुलिसकै पूर्वखेलाडी समेत हुन् भने नवौं राष्ट्रिय खेलकुदबाट दिपेन्द्रलाई कप्तानी हस्तान्तरण गर्नुअगाडि उनी पुलिसको कप्तानी गर्थे । प्रधानमन्त्री कपका लागि सहायक प्रशिक्षकको भूमिकामा रहेका उनी जय ट्रफीका लागि भने मुख्य प्रशिक्षक तोकिएका हुन् । यसअघि मन्जितकै प्रशिक्षणमा पुलिसको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो ।
पुलिस क्लबमा रहेका अधिकांश राष्ट्रिय खेलाडीले नेपालको एकदिवसीय टिमबाट खेल्दै आएका छन् । पिएम कपमा शानदार प्रदर्शन गरेका खेलाडीहरूले जय ट्रफीमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा रहनेछ । विशेषगरी यस वर्षका लागि तय भएका नेपालका तीन मुख्य सिरिजका लागि टिम तयार गर्ने आधार पनि जय ट्रफीमा खेलाडीहरूले गर्ने प्रदर्शन हुनेछ ।
कप्तान आरिफ मिडल अर्डरमा भरपर्दा ब्याटरसँगै मिडियम पेस बलरसमेत हुन् । उनी मिडल ओभरमा गेम चलाउन सक्षम छन् भने अर्जुन साउद र कुशल भुर्तेल ओपनिङको विकल्प रहँदा गुल्शन झा, करण केसी अलराउण्डर र ललित राजवंशी मुख्य स्पीनरका रूपमा रहनेछन् । यीबाहेक राशिद खान र अभिनाश कर्ण पेस बलिङ तथा सागर ढकाल अर्का स्पीन विकल्प हुनेछन् । मिडल ओभरमा शंकर राना पनि भरपर्दा ब्याटर हुन सक्छन् ।
राष्ट्रिय तथा घरेलु खेलाडीहरूले भरिपूर्ण रही सन्तुलित पुलिसको टोली बलियो देखिएको छ । पिएम कपमा शानदार प्रदर्शन गरेको पुलिस जय ट्रफी दुईदिवसीय क्रिकेट प्रतियोगिताको समेत उपाधि दाबेदारको रूपमा रहनेछ ।