गुल्मीको सामुदायिक विद्यालयमा लघु संग्रहालय, देख्न पाइन्छ परम्परागत वस्तु
२४ पुस, गुल्मी । सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले ‘लघु संग्रहालय’ स्थापना गरेको छ । विद्यार्थीलाई लोपोन्मुख वस्तुको जानकारी दिने उद्देश्यले विद्यालयमा ‘लघु संग्रहालय’ स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए ।
विद्यार्थीहरुलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीहरुको बारेमा पनि जानकारी दिने उद्देश्यले लघु संग्रहालय स्थापना गरिएको हो । ‘हाम्रा पूर्खाहरुले प्रयोग गरेका वस्तुहरुको संग्रह गरेर अहिले प्रयोगमा नभएका वस्तु बारेमा जानकारी गराउने उद्देश्यले यस्तो खालको संग्रहालय स्थापना गरिएको हो’, उनले भने ।
संग्रहालयमा विभिन्न क्रियाकलापका तस्वीरहरु, विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामग्रीहरु, विद्यालयका ऐतिहासिक तस्वीरहरु, गाउँघरमा काठबाट बनेका सामग्रीहरु राखिएको विद्यालयका शिक्षक टीका खड्काले बताए ।
विद्यार्थीहरुलाई पुराना वस्तु र प्रविधिहरुसँग परिचित गराउने उद्देश्यले लघु संग्रहालय स्थापना गरिएको हो । विद्यालयले छुट्टै कोठामा व्यवस्थित रुपमा स्थापना गरेको संग्रहालयमा मानापाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको नाम्लो, डाला, फुगो, माना, तराजु ढक, कुँचो, गुद्री, मालन, लालटिन, हुक्का, आरी हाडी, मटुलो, पुराना जमानका पैसा राखिएको छ ।
त्यस्तै, खुकुरी, सिलौटो, लोहोरो, प्राचीन बाध्यबाधनका सामग्रीहरु रहेका छन् । ती सामग्रीहरुको प्रयोग बारेमा विद्यार्थीहरुलाई चिनाउने काम विद्यालयले गर्ने गरेको शिक्षक खड्काले बताए ।
प्राचीन समयमा अत्यन्तै महत्वपूर्ण सामग्रीहरु अहिले प्रयोगमा नआएकाले त्यसको संरक्षण र जानकारी दिने काम संग्रहालयबाट हुने गरेको छ । विद्यालयमा आउने कुनै पनि पाहुना तथा अन्य विद्यालयबाट यो विद्यालयमा भ्रमणमा आउने विद्यार्थीहरुलाई लघु संग्रहालयमा अवलोकन गराउने काम विद्यालयले गर्ने गरेको छ ।
विद्यालयले पढाइएसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उद्देश्यले दुना–टपरी बनाउने तालिम प्रदान गर्ने गरेको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ ।
विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरेको हो । पछिल्लो पिँढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनीहरुलाई पनि सहभागी गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साहपूर्वक सहभागी हुने गरेको विद्यालयले जनाएको छ ।