ओलीले देखाउनुभएको सदाशय नै मेरो लागि प्रत्युत्पादक भयो । राजासँग अविस्मरणीय भेट भयो, तर त्यसपछिका कुराहरू बिर्सनलायक भए ।

 अनलाइनखबर

 २०८१ पुष २४ गते १०:०४

पञ्चायत, बहुदल होस् या गणतन्त्र- राप्रपा नेपालका अध्यक्ष कमल थापा सधैं राजनीतिको चर्चामै रहिरहन्छन् । अचेल भने उनको सक्रिय सार्वजनिक जीवनमा केही सुस्तता छाएको छ । यस बीचमा उनले ‘नाकाबन्दी र भूराजनीति’ पुस्तक लेखे, जसले राष्ट्रिय राजनीतिक जीवनमा रहेका कतिपय पात्र र प्रवृत्तिबारे थुप्रै सूचना उजागर गर्न सक्यो । थापा अहिले राप्रपाका दुई धारलाई मिलाउन चाहन्छन्, अनि ‘सम्वद्र्धनवादी विचार’ को विरासत नयाँ पुस्तामा सुम्पेर आफू नेपथ्यमा रहन चाहेको संकेत गर्छन् । उनीसँग मंगलबार दिउँसो अनलाइनखबरका बसन्त बस्नेतले गरेको कुराकानी :

तपाईं राजनीतिमा नयाँ विकल्प खोजौं भन्दै हुनुहुन्छ । कस्तो विकल्प भन्नुभएको ?

पञ्चायतको ३० वर्षलाई अलग गर्ने हो भने अहिलेसम्म वामपन्थी शक्ति र विचारको वर्चस्व रहँदै आयो । नेपालमा कांग्रेस, विप्लवदेखि वैद्य माओवादीसम्म आफूलाई समाजवादी नै भन्छन् । समाजवादी भनेको वामपन्थी झुकाव भएकै विचारधारा हो । इतिहासको यो लामो यात्रामा वाम झुकावको वर्चस्वले देशलाई आर्थिक दृष्टिकोणबाट सम्पन्न तुल्याउन, राजनीतिक स्थिरता प्रदान गर्न सफल भएको देखिएन । संसारैभरि वामपन्थी विचार पतनतर्फ गइरहेको देखिन्छ । उनीहरूमा विचलन देखा पर्दा झन् विकृति बढ्दै गएका छन् । अहिले कांग्रेस, एमाले, माओवादी सबैमा वैचारिक विचलन छ । उनीहरू आफैंले विगतमा दलाल पूँजीवादी मान्यता भनेर विरोध गरेका नीति नै अवलम्बन गरिरहेका छन् । एकातिर वाम विचार पनि नछाड्ने, अर्कातिर नवउदारवादबाट पनि प्रभावित हुने । यो विचलन देखिएकाले मैले २०६२/६३ को परिवर्तनपछि नेपालमा सम्वद्र्धनवादी विचार बोकेको हुँ । मैले आफ्नो मान्यतालाई सम्वद्र्धनवादी विचार भनेको हुँ । यसलाई अंग्रेजीमा ‘लिबरल कन्जरभेटिज्म’ भन्दा हुन्छ ।