टोखाको चाकु : नामै काफी छ

२४ पुस, काठमाडौं । टोखाका बुद्ध श्रेष्ठ चाकु उद्यमी हुन् । चाकु उत्पादन गर्ने चारवटा कम्पनी चलाइरहेको बताउने श्रेष्ठलाई माघे संक्रान्ति नजिकिएसँगै चटारो झन् बढेको छ ।

टोखा परम्परागत चाकु संरक्षण समाजको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘रातभरी काम भइरहेको छ । हिजो राति चार घण्टा मात्र सुतियो ।’

टोखामा मात्रै एक दर्जन बढी चाकु उद्योगहरु छन् । ती सबै उद्यमीहरुको छाता संस्था हो टोखा परम्परागत चाकु संरक्षण समाज । समाजमा आबद्ध सबै उद्यमी र कामदारहरुलाई अहिले भ्याइनभ्याइ छ ।
उनीहरु चाकु, तिलको लड्डु, भुजा (मुरइ)को लड्डु, खुवाका परिकार उत्पादन गर्छन् र बजारमा पुर्‍याउँछन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठका अनुसार मंसिर महिनामा पर्ने योमरी पूर्णिमा र माघे संक्रान्तिमा चाकु लगायतका परिकारको माग बढी हुन्छ ।

यी चाडमा चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड लगायत परिकार खाने चलन छ । यी खानेकुरा तागतिलो र स्वास्थ्यवद्र्धक पनि छन् । त्यसैले उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै तीन महिना अघिदेखि नै टोखाका उद्यमीहरु चाकु उत्पादनमा व्यस्त हुने गर्दछन् ।

माघे संक्रान्तिमा चाकुको माग अत्यधिक हुने गरे पनि माग अनुसार आपूर्ति गर्न नसकिएको श्रेष्ठ बताउँछन् । ‘चाकुको माग बढ्दो छ तर दिन सकिएको छैन,’ श्रेष्ठ भन्छन् ।

गुणस्तरको चिन्ता

चाकु सक्खरलाई पकाएर बनाइछ । सक्खरलाई पकाइसकेपछि त्यसमा नरिवल समेत राखेर प्याक गरी बजारमा पठाइन्छ ।

माघे संक्रान्तिताका करिब चार लाख किलो सक्खर खपत हुने टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

कतिपय चाकु खाँदा बालुवा लागेजस्तो किरकिर हुने गर्दछ । सक्खर उत्पादन, भण्डारण र ढुवानीमा ध्यान नदिँदा त्यसो हुने गरेको श्रेष्ठको जिकिर छ । ‘सक्खर गुणस्तरको भए चाकु पनि गुणस्तरको बन्छ । हामी पनि चाहन्छौं सक्खर गुणस्तरीय होस् र उपभोक्ताबाट कुनै गुनासो सुन्नु नपरोस्,’ श्रेष्ठ भन्छन् । यद्यपि आफूले नेतृत्व गरेको कम्पनीबाट उत्पादन गरिएको चाकुमा भने उपभोक्ताबाट कुनै गुनासो नआएको उनी बताउँछन् ।

गुणस्तरीय सक्खर उत्पादन होस् भनेर आफूहरुले पनि पहल गरेको उनी बताउँछन् । ‘सक्खर उत्पादनबारे बुझन् हाम्रो समाजको टोलीले वडाका जनप्रतिनिधिहरु सहित सक्खर उद्योगको अवलोकन गरेका थियौं र गुणस्तरीय बनाउन सुझाव दिएका थियौं,’ श्रेष्ठ भन्छन्, ‘हामी चाकु उत्पादक र सक्खर उत्पादक गुणस्तरमा मिलेर काम गर्न चाहन्छौं ।’

चाकुले चर्चित टोखा

टोखाको पुरानो नेवारी नाम ‘तुखा’ हो । ‘तु’को अर्थ उखु र ‘खा’को अर्थ खाल्डो हो । पछि ‘तुखा’ अप्रभंश हुँदै ‘टोखा’ रहन गएको टेकबहादुर श्रेष्ठले ‘टोखा ः एक ऐतिहासिक चर्चा’ शीर्षकको आलेखमा उल्लेख गरेका छन् ।

उनका अनुसार टोखामा पहिले प्रशस्त उखु उत्पादन हुन्थ्यो । स्थानीयले त्यसबाट गुड र चाकु उत्पादन गरेर बिक्री गर्दथे । टोखाका महेन्द्र बस्नेतले ८० रोपनी जग्गाको वार्षिक ८० धार्नी गुड कर स्वरुप भन्सारमा बुझाएको बारेको विक्रम संवत् १८६५ एउटा पत्रबाट प्रमाणित हुने उनले आलेखमा लेखेका छन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठले पनि परम्परादेखि नै टोखामा चाकु उत्पादन हुने गरेको बताउँछन् । ‘चाकु उत्पादन गर्दै आएको म चौथो पुस्ता हुँ,’ श्रेष्ठ भन्छन्, ‘यहाँको चाकु देश–विदेश जताततै रुचाइएको छ ।’

चाकुको ब्राण्ड बनाउने चाहना

टोखाको चाकु विश्व बजारसम्म पुग्ने गरेको छ । चीन, जापानदेखि युरोप र अमेरिकासम्म चाकु बिक्रीका लागि पठाउने गरेको श्रेष्ठ बताउँछन् । नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरी चाकुको बजार विस्तार गर्ने योजना श्रेष्ठको छ ।

‘टोखाको चाकुको ओरिजिनल ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना छ । त्यसका लागि मन्त्रीदेखि सांसद र नीति निर्मातासम्मलाई भेटेर पहल गरिरहेका छौं,’ उनी भन्छन् ।

त्यसका लागि उत्पादनदेखि निर्यातका लागि पनि सरकारले सहयोग गरिदिनुपर्छ भन्ने अपेक्षा उद्यमीको छ । ‘सरकारले सहुलियत दरमा कर्जा दिनुपर्यो, परम्परागत उत्पादनलाई प्रोत्साहन गर्नुपर्यो, बिचौलिया अन्त्य गर्नुपर्‍यो । त्यसो हुँदा युवाहरु पनि विदेश पलायन हुनबाट रोकिन्छन् भन्ने लाग्छ,’ श्रेष्ठ भन्छन् ।