हिउँद सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव, स्वास्थ्य जोखिममा

हिउँद याममा लगातार सुख्खा र खडेरी हुँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिमा परेको छ । यसले अर्थ व्यवस्थामा दबाब त पारेको छ नै प्रदूषण बढ्दा स्वास्थ्य पनि जोखिममा छ ।

 

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।

नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १०  प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँदयामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानीको मात्रा (जलजवाष्प)को कमीले वर्षा हुन नसकेको हो ।

हिउँदे वर्षाको महत्व

नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गई जम्मा हुन्छ । यो नै पछि गएर मूलको रुपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढ्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।

डा. उप्रेती भन्छन्, ‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् । आगलागीका घटनाहरु बढी भयो भने वन, जंगलमा हुने पारिस्थितिकीय प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौं जस्तो चारैतिरबाट ठूला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलोको मात्रा बढ्छ । तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठूलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म काठमाडौं प्रदूषित शहर भएर बस्छ ।’

आज नै काठमाडौंमा वायुगुणस्तर सूचक १५० देखि १८० एक्यूआई हाराहारी छ । यो निकै हानिकारक हावाको अवस्था हो । नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।