समस्याका चाङमा निर्माण क्षेत्र, बढ्दैछन् जीर्ण आयोजना

NCELL

नारायणगढ-बुटवल सडक खण्ड/फाइल तस्वीर

२६ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ निर्माणकै सिजनमा आन्दोलनको तयारीमा जुटेको छ । महासंघ महासचिव रोशन दाहालका अनुसार महासंघले शनिबार काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ । भेलाले आन्दोलनका कार्यक्रम तय गर्ने र चरणबद्ध आन्दोलनमा जाने तयारी गरेको छ ।

निर्माण व्यवसायीले चरणबद्ध आन्दोलनमा जाने तयारी गर्नुका पछाडि पृष्ठभूमिमा विविध कारण देखाइएको छ । जसमध्ये केही मुख्य कारण यस्ता छन्, जुन राज्य सञ्चालक र नेतृत्वको लापरबाहीले उत्पन्न भएका हुन् ।

एकातर्फ सम्पन भइसकेको कामको भुक्तानी नपाएको गुनासो निर्माण व्यवसायीको छ भने अर्कातर्फ सरकारले अन्धाधुन्ध आयोजना घोषणा गर्ने र स्रोत सुनिश्चितताविना कार्यान्वयनमा जाँदा स्रोत व्यवस्थापनमा समस्या परेको छ ।

यसले निर्माण व्यवसायी मात्र समस्यामा परेका छैनन्, समग्र निर्माण क्षेत्र प्रभावित बन्दै जीर्ण आयोजना संख्या बढ्दो छ । महासंघले संकलन गरेको तथ्यांक अनुसार सरकारले अहिले घोषणा तथा छनोट गरेका आयोजनाको कुल लागत ६ खर्बभन्दा माथि पुगिसकेको छ । त्यसमध्ये १ खर्बभन्दा बढीका आयोजनाको स्रोत सुनिश्चितता छैन ।