ललितपुर ः ललितपुर महागरले भगिनी सम्बन्ध कायम गरेको गुल्मी जिल्लाको मालिका गाउँपालिका पुगेका महानगर प्रमुख महर्जनले वातावरण संरक्षण र सार्वजनिक जग्गा सरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
मलिकाका जनप्रतिनिधिसँग छलफल गर्न आयोजना गरिएको कार्यक्रममा उनले काठमाडौं उपत्यकाले गरेको गल्ती नदोर्याउन अनुरोध गरे । उनले भने, ‘पर्ति, ऐलानी, सार्वजनिक जग्गा उपत्यकामा विभिन्न कालखण्डमा धेरै मासियो,त्यस्तो गल्ती यहाँ नदोहोर्याउनुस् । ’ आफू निर्वाचित भएर आएपछि महानगरभित्रको यस्ता जस्ता संरक्षणमा घनीभूत रुपमा काम गरेको उनले बताए । मालिका गाउँपालिकाको प्राकृतिक सौन्दर्य र हरियालीबाट आफू मोहित भएको बताउँदै वातावरण संरक्षणलाई समेत मालिकाले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मालिकाको स्वच्छ हावापानीले मालिकाबासी स्वस्थ जीवन बाचेको बताउँदै जनघनतत्व बढी भएका पालिकामा बस्नेको आयु प्रदुषित हावापानीका कारण कम हुने बताए ।
अन्य जनप्रतिनिधिमण्डलसहित मालिका पुगेका महर्जनको टोलीमा वडा नं.२०का वडा अध्यक्ष चन्द्रलाल महर्जन , वडा न ं१७ का वडाअध्यक्ष विनोद महर्जन लगायत छन् ।
मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सांस्कृतिक नगर ललितपुर महानगरले प्राकृतिक रुपमा सम्पन्न मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्नु अनुपम उदाहरण भएको बताए । महानगरको सहयोगमा मालिका गाउँपालिकामा बनेको मालिका देवीको मन्दिर ललितपुर महानगरलाई दिएको महत्वपूर्ण उपहार भएको बताए । उनले भने, ‘मालिका देवीकै नामबाट गाउँपालिकाको नाम मालिका रहेको हो , महानगरको सहयोगबाट यो मालिका देवीको मन्दिर बन्नु अत्यन्तै सुखद हो । ’
गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले सडक पूर्वाधार विकासको महत्वपूर्ण आधार भएको बताउँदै सबै वडाबाट पालिका जोड्न बाटो निर्माण कार्य तीब्र गतिमा अघि बढेको बताए । कार्यसम्पादन मूल्यांकनमा पालिका उत्कृष्ट भएको जानकारी दिए । दुरदराजमा रहेको पालिकासँग देशकै समृद्ध पालिकाले भगिनी सम्बन्ध जोड्कोको धन्यवाद दिदैँ आभार प्रकट गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले भौगोलिक रुपमा मालिका र ललितपुर टाढा भएपनि भगिनी सम्बन्धले आत्मीय र नजिक भएको बताए । कार्यक्रममा वडाअध्यक्षले महानगरमा भएका असल अभ्यास र आफ्नो वडा र पालिकामा भएका असल अभ्यास, अप्ठ्यारो र चुनौतीका बारेमा चर्चा गरेका थिए ।
लुम्बिनी प्रदेशमा रहेको गुल्मी जिल्लामा रहेको मालिका गाउँपालिकामा आठवटा वडा छन्