काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि बताए ।एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।

यसरी प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ ।उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराए । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य छन् । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराएका छन् ।

Facebook Comments Box