चितवनमा एक वर्षमा सवारीसाधनको जरिवानाबाट ३ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्षमा ३३ हजार ७३८ सवारीसाधनको जरिवानाबाट ३ करोड ८ लाख ५४ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको हो, जसमध्ये सबैभन्दा बढी रकम मोटरसाइकल जरिवानाको छ । उक्त शीर्षकमा ७८ लाख ५४ हजार ५०० रूपैयांँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ९ हजार २५१ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

यस्तै, जीप/कारको जरिवानाबाट ७० लाख ९४ हजार ५००, ट्रक/टिपरको जरिवानाबाट ६८ लाख २४ हजार, बस/माइक्रोको जरिवानाबाट ३७ लाख ८५ हजार, टेम्पो तथा अन्य सवारीसाधनको जरिवानाबाट ३७ लाख २८ हजार र ट्र्याक्टरको जरिवानाबाट १५ लाख ६८ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । पछिल्लो एक वर्षमा ६ हजार २३८ ओटा ट्रक/टिपर, ७ हजार ७२२ ओटा जीप/कार, ४ हजार ५७ ओटा बस/माइक्रो, ४ हजार ८८८ ओटा टेम्पो तथा अन्य सवारीसाधन र १ हजार ५७२ ओटा ट्र्याक्टर कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्नेबाट नियमानुसार जरिवाना गराइएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख धर्मबहादुर थापाले जिल्लामा चल्ने सवारीसाधनको संख्या बढेसँगै ट्राफिक उल्लंघन पनि बढेको बताए । जिल्लामा चल्ने सवारीसाधनमध्ये दुईचक्के सवारीसाधन बढी भएकोले उल्लंघन पनि सोही प्रकृतिका सवारीसाधनबाट बढी भएको उनको भनाइ छ ।

Facebook Comments Box