धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइँ सकिएपछि मात्र नेपाल भित्रन सुरु भएको छ। नेपाल सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो खेपमा २५ सय अर्थात ५० हजार बोरा मल बिहीबार वीरगन्ज आइपुगेको हो। कोलकत्ता बन्दरगाहबाट २५ सय टन मल बोकेर हिँडेको रेल बिहीबार दिउँसो वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख चन्द्र चौलागाईंले जानकारी दिए।

नेपाल सरकारले ग्लोबल टेण्डरमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ। चौलागाईंका अनुसार कोलकत्ता बन्दरगाहबाटै थप २५ सय मेट्रिक टन युरिया मल बोकेर हिँडेको अर्को रेल भारतकै बाटोमा रहेको र अबको तीनचार दिनभित्रमा उक्त रेल पनि ड्राइपोर्टमा आइपुग्नेछ। ओमानबाट खरिद गरिएको कूल ३० हजार युरियामध्ये २२ हजार ५ सय मेट्रिक टन मल वीरगन्जकै ड्राइपोर्ट नाका हुँदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले जानकारी दिए।

खरिद गरिएको सबै ३० हजार मेट्रिक टन युरिया मल ९ खेपमा गरेर नेपाल भित्रिने उनले बताए। उनले भने, ‘अहिले फस्ट लटमा २५ सय टन आएको हो, सबै मल आइपुग्न अबको १२ देखि १५ दिन लाग्छ।’ बिहीबार वीरगन्जको सिर्सिया ड्राइपोर्टमा आइ पुगेको २५ सय मेटन (५० हजार बोरा) युरिया मल एक सातापछि मात्रै सम्बन्धित जिल्लाहरुमा वितरणका लागि पठाइने चौलागाँइले जानकारी दिए। त्यसपछि मात्रै किसानहरुले मल पाउने उनले बताए। उनले भने, ‘बिहीबार आएको मलको नमूना गुणस्तर परिक्षणका लागि बिहीबार नै काठमाण्डौको प्रयोगशालामा पठाएका छौ, त्यसको रिपोर्ट आउन कम्तिमा चार दिन लाग्छ। त्यसपपछि ड्राइपोर्टबाट मलको भन्सार जाँचपास हुन्छ, त्यसपछि ड्राइपोर्टबाट ट्रकमा कम्पनीको गोदाममा ल्याउँछ। अनि बिक्रीवितरणका लागि सम्बन्धित जिल्लाहरूमा परिचालन हुन्छ, यो सब प्रक्रिया पुर्‍याउँदा अझ एक हप्ता लाग्न सक्छ।

वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालयले मधेस प्रदेश सहित काठमाण्डौ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ।  कार्यालय प्रमुख चौलागाईंका अनुसार ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार युरिया मलमध्ये मधेस प्रदेशमा ८ हजार ५ सय वितरण गरिनेछ। पर्साका लागि भने ८ सय ५० अर्थात् (१७ हजार बोरा ) र बाराका लागि १ हजार  (२० हजार बोरा) युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए।  चौलागाईंका अनुसार वीरगन्जस्थित कम्पनिको गोदाममा अहिले युरिया मलको मौज्दात शुन्य रहेको छ। यस्तै डिएपी मल भने ८ सय ३१ मेटन र पोटास मल १ हजार ५ सय ९७ मेटन मौज्दात रहेको चौलागाँइले जानकारी दिए।

 

Facebook Comments Box