काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । यसअघिको बैठकमा भएको सहमति अनुसार आजको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्नेछन् ।तर, गठबन्धनमा सिट बाँडफाँटमा सकस देखिएको छ । गठबन्धनका दलहरू आ–आफ्ना अडानबाट पछाडि नहट्दा समस्या देखिएको हो ।कांग्रेस नेताहरू ०७९ को स्थानीय तहको मत परिणामलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिइरहेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीहरू भने ०७४ को संसदीय मत परिणामलाई प्रमुख आधार बनाउनुपर्ने अडानमा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले ०७४ मा आफूहरूले जितेको ठाउँ स्वत: पाउनुपर्ने बताइरहेका छन् । एमालेले जितेका ठाउँमा मात्र भागबन्डा गर्नुपर्ने उनीहरूको माग छ । तर, कांग्रेस त्यसो मान्न तयार छैन ।कांग्रेसका नेताहरूले १०० सिटका लागि दाबी गरिरहेका छन् । नभए ९० सिट भन्दा तल नझर्ने कांग्रेसको रणनीति छ । कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी बहुमत पुर्‍याउने रणनीतिमा छ । उसको रणनीतिबारे माओवादीसहित अन्य दलहरू पनि सचेत छन् ।

कार्यदलका एक सदस्य भने आफूहरू सहमतिमै निष्कर्षमा पुग्ने बताउँछन् । अहिले फरकफरक मत आएपनि अन्तिममा सहमतिमै अगाडि बढ्ने ती सदस्यको भनाइ छ ।कार्यदलमा कांग्रेसबाट संयोजक सिटौलासहित महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Facebook Comments Box