काठमाडाैँ- मूर्तिकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ।

प्रत्येक वर्ष वैशाख २ गते सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिबेला सांस्कृतिक उत्सवमा रमाइरहेको छ।

विभिन्न देवीदेवताका मुकुन्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याँख, भैल प्याँख, महाकाली प्याँखजस्ता नाचहरू नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रूपमा यथावत राख्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठ बताउँछन्।

यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको फरकफरक नाचहरूको प्रदर्शन हेर्दा त्यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न बासिन्दा निकै जुर्मुराएका छन्।

मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुन्डो धारण गरेर नाचिने यस्ता नाचहरू कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइनन्। यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवं नाचका गुरुहरू र स्थानीय बासिन्दा बताउँछन्। यी नाचहरूको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको हजारौँले अवलोकन गरिरहेका छन्।

यस वर्ष नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलो दिन गत शनिबार राति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सोमबार राति महाकाली र भैरव नाचको अवलोकन गर्नुभएको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए। यस वर्ष मध्यपुरथिमिमा नीलबाराही, भैरव र महाकाली नाच प्रदर्शन गरिएको छ।

नीलबाराही नाच

मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ। नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर त्यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो। नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई त्यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन्। त्यसको उदाहरण हो- द्यो प्याँख अर्थात नीलबाराही नाच।

मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म त्यहाँको टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ।

नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन्। देवता १९, गुरु छ, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रत्यक्ष संलग्नता रहने गर्दछ।

बोडेको लाकुछेंबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही हुँदै पुनः खासी टोल भएर लाकुछेंमा आएर मुकुन्डो निकालेपछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए।

प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीकोनाच देखाउने र त्यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको छ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नुपर्ने नीलबाराही नाच कहिलेदेखि सुरु भयो भत्रे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै सुरु भएको हुनुपर्ने प्रजापतिको भनाइ छ।

२६ वर्षदेखि पोङ्गा पूजामा सहभागी हँदै आएका ४५ वर्षीय रोमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्ता अगाडिदेखि नीलबाराही नाचमा सहभागिता रहँदै आएको बताउँदै उनले देवगण फेरिँदा पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउँछन्।

नाचमा सहभागी हुने देवगणको मृत्युबाहेक नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरू अवस्थामा देवगण फेर्न नपाइने उनको भनाइ छ।

उनी भन्छन्, ‘हामीले चाहेर आफूखुसी देवगण फेरिने होइन, यो त नीलबाराहीको अदृश्य दैवी शक्तिले फेरिने हो। विसं २०१५ मा एकपटक देवीको शक्तिले देवगण परिवर्तन भएको थियो, त्यसपछि अझै त्यो अवसर आएको छैन। त्यसैले ७० वर्षभन्दा माथि ७५ वर्षसम्मका आठजना देवगणले अझै पनि नाचिरहनुभएको छ।’

त्यतिबेला देवगण फेरिँदा सिंहका रूपमा नाच्ने राजकुमार पाँ श्रेष्ठ अहिले नाच्ने १९ देवगण मध्येका जेठो हुन्। देवगणको मृत्यु भएपछि पनि उनको ठाउँ उनकै परिवारभित्रको सदस्यले लिनुपर्छ, अरूलाई दिन पाइँदैन। तान्त्रिक शक्तिबाट देवगण हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता रहेको छ।

नाचको किंवदन्तीबारे प्रजापतिले भने, ‘परापूर्वकालमा खेतमा काम गर्न गएका बोडे सहरका स्थानीय धोँ जातका एक व्यक्ति हराए, अचानक उनी घर नर्फिकएपछि चारैतिर खोजी भयो तर भेटिएनन्। चार दिनपछि उनी फर्किए र आफूलाई खेतमा जाँदा नीलबाराही देवीले लगेर नीलबाराही जङ्गलमा चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर यो नाच हरेक वर्ष चलाउनु भनेर पठाएको बताएपछि त्यस वर्षदेखि यो नाच सुरु भएको किंवदन्ती छ।’

नीलबाराही जङ्गलमा नाच सिकाएको ठाउँ अहिले पनि रहेको स्थानीयवासीको भनाइ छ।

नाचका मूलगुरु ७२ वर्षीय सानुकान्छा बालाका अनुसार नाच अवधिभर देवगणले खान हुँदैन, भुइँमा बस्न हुँदैन, कसैसँग बोल्न हुँदैन, घामपानीमा छाता ओढ्न हुँदैन, दिसापिसाब गर्न हुँदैन र जुत्तासमेत लगाउन हुँदैन, नाच नाच्नेहरुले निकै कडा नियमको पालना गर्नुपर्छ।

देवगणले मुकुन्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन। बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास छ। जात्रामा काटमारसमेत गर्नु हुँदैन। परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ।

बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयको घुइँचो लाग्ने गर्छ। जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिन भने बिहान ४ बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ र चौथो दिन बिहानदेखि साँझसम्म नै निरन्तर चलिरहन्छ।

नाचमा भुस्या बाजाः बजाउँदै आउनुभएका ५९ वर्षीय तेजकुमार व्याय श्रेष्ठ नाच देवता घरबाट निकालेर टोलटोल परिक्रमा गराइने बताउँछन्। नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म ‘प्याँखा स्यनेगु’ अर्थात् नाचको तयारी गरिन्छ। भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि त्यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिइरहेका छन्।

भैल प्याँख अर्थात् भैरव नाच

आर्थिक अभावका कारण ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच पनि अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म चार रातभर प्रदर्शन गर्ने गरिन्छ।

दुई वर्ष त्यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिए पनि यस वर्ष फेरि सञ्चालन भएको छ।

मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाचमा भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँचजना देवगण नाच्ने गरिन्छ। नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्ज्वल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठ नाचेका थिए।

लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात् कपालको बियाँ, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धांबाजाका साथै नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले बताए।

नाचका क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापूँगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ छ। उनीहरूलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो।

मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरुटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमापछि पुनः लायकू दरबारमा पुर्‍याइन्छ। मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवगणले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ।

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए। त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालकहरू सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वानसँग छलफल गरी स्थानीय मानिसहरुमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेतहरू टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती रहेको गुरु श्रेष्ठको भनाइ छ।

महाकाली नाच

त्यसैगरी, ८८ वर्षपछि मध्यपुरथिमि नगरपालिका-५ दिगुटोलमा यस वर्ष प्राचीन महाकाली नाच प्रदर्शनी गरिएको छ। थिमिको अन्य ऐतिहासिक नाचजस्तै महाकाली नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीयादेखि साँझ ६ देखि राति १ बजेसम्म दैनिक सञ्चालन हुने महाकाली नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले बताए।

उनका अनुसार यो नाच यस वर्ष भाद्र ३ गते शुक्रबार कृष्ण जन्माष्टमीमा सम्पन्न गर्ने तयारी रहेको छ। यो नाच पहिलो दिन पाचोमा टोल, दोस्रो दिन पोबुमा, तेस्रो दिन गार्चामा, चौथो दिन दिगुटोलमा, पाँचाैँ दिन बालकुमारीमा र छैटौँ दिन नासननीमालगायत नगरका विभिन्न टोलमा प्रदर्शनी गरिएको छ।

यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ। महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् भय नहुने जनविश्वास रहँदै आएको संयोजक प्रजापतिले बताए।

मल्लकालदेखि चल्दै आएको महाकाली नाचको मूल गुरु श्रीगोपाल प्रजापति रहेको यो नाच अब हरेक वर्ष सञ्चालन गर्ने गरी तयारी गरिएको अर्का गुरु राजकुमार चक्रधरले बताए।

महाकाली नाच विभिन्न २१ वटा तालमा नाच्ने गरिन्छ। विभिन्न फरक-फरक समूह फरक–फरक तालमा नचाइने यस नाचमा मुख्य भूमिकामा देवीहरूको एकल नाच पनि प्रदर्शन गरिन्छ। नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवा समेतको सहभागिता रहेको छ।

यस वर्ष नाचमा देवगणहरु बनेर नाच्नेहरूमा महाकालीमा गोपी प्रजापति, महालक्ष्मी आयुष प्रजापति, महादेवी कृष्ण भासिमा, बेतालमा अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन्।

त्यस्तै, कृष्ण प्याथं र रोम चक्रधर ख्याक, रोहन प्रजापति र सलोन प्रजापति भूत भैरव, निलव प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापति सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माक (बाँदर) र स्वस्थानी प्रजापति दैत्यको भूमिका निर्वाह गरेर नाच प्रदर्शन गरिएको छ। महाकाली नाँचमा धाँ बाजा, दिँ बाजा, मुहाली बाजा र चावी बाजा बजाउने गरिन्छ।

देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन गरिन्छ। मध्यपुरथिमिको नगदेशमा पनि महाकाली नाच प्रदर्शन गरिँदै आएकामा यस वर्ष भने रोकिएको छ। थिमिमा गाईजात्राको दिन राति अष्टमात्रिका र नागचा नाचसमेत प्रदर्शन गर्ने परम्परा छ।

Facebook Comments Box