नेपालमा प्रारम्भिक रुपमा हिन्दू धर्म मान्ने अधिक जनमानस हुनुका अतिरिक्त ठाउँ–ठाउँमा भगवान् श्रीकृष्णको जन्माष्टमी मनाउने प्रचलन भए तापनि ललितपुरमा भगवान् श्रीकृष्णलाई अत्यधिक महत्व दिनुमा ललितपुका तत्कालीन राजा सिद्धिनरसिंह मल्ल नै एक मूल कारकजस्तो बुझिन्छ । ललितपुरको मंगलबजारस्थित भारतीय शिखर शैलीमा निर्मित विश्वप्रसिद्ध कृष्ण मन्दिरको निर्माण मल्ल राजा सिद्धिनरसिंह मल्लले गराएका हुन् ।

ने.सं. ७५७ फाल्गुण शुक्ल दशमी पुनर्वसु नक्षत्र आयुष्मान योग बृहस्पतिबारका दिन कोटिहोम गरी २१ वटा गजुरसहितको मन्दिर निर्माण गरिएको हो ।किवदन्ती अनुसार यो शिव मन्दिर बनाउने अभिप्रायले निर्माण आरम्भ गरिए तापनि राधाकृष्ण त्यस मन्दिरको तल विराजमान भएको सपना राजा सिद्धिनरसिंह मल्लले देखेपछि दोस्रो तलामा राधाकृष्ण प्रतिस्थापना गरी तेस्रो तलामा शिवलिंग स्थापना गरिएको थियो । त्यस्तै चौथो तलामा लोकेश्वर स्थापना गरी साम्प्रदायिक भावनालाई परित्याग गरेर विभिन्न धर्मका बीचमा सामञ्जस्यता स्थापना गर्ने चेष्टा भएको बुझिन्छ ।

राजा सिद्धिनरसिंह मल्लको रचना श्रीकृष्ण भक्ति नै रहेको र प्रत्येक काव्यको अन्त्यमा श्रीकृष्ण भगवान्को दासको रुपमा आफूलाई परिचित गराएको देखिन्छ । राजा सिद्धिनरसिंहलाई आफ्नो जीवनकाल र पछिसम्म पनि मधुसूदनावतार, कवीश्वर, राधाकान्त नितान्त चमत्कारी, राजऋषीश्वर, श्रीकृष्ण पादाम्बरुहेकमृङगो इत्यादि रुपमा सम्बोधन गर्ने गरेको अभिलेख पाइन्छ ।

ललितपुरको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरको महत्व जन्माष्टमीका दिन त्यहाँ हुने दर्शनार्थीको भीडका साथै सो दिन राष्ट्रप्रमुखले समेत दर्शन गरी अटुटरुपमा प्रसाद ग्रहण गर्ने चलनलाई अझै पनि निरन्तता दिने गरिएको छ । ललितपुरमा मनाइने विभिन्न जात्राहरूमध्ये भगवान् श्रीकृष्ण पूजाको परिक्रमा पनि हो । यस जात्राको परिक्रमा अर्थात् व्यवस्थापन गर्ने वि.सं. १९८८ देखि मात्रै स्व. तुल्सीमेहर श्रेष्ठको पहलमा प्रारम्भ भएको हो । उनी कोवहाल टोलकै बासिन्दा थिए ।

उनको मनमा यस जात्रा मनाउने कहाँबाट प्रकट भयो भन्ने कुनै प्रामाणिक तथ्य नभए तापनि नगरवासीहरुको भगवान् श्रीकृष्णप्रतिको आस्था तथा उनी भारतका स्व. मोहनदास कमर चन्द गान्धीका निकटम सहयोगी हुनुका कारण पनि हुन सक्छ । साथै यस टोलमा नेपाल संवत् ८०० (वि.सं. १७३७) मा श्रीनिवास मल्लकी माहिली छोरी अर्थात् सिद्धिनरसिंहकी नातिनीद्वारा मंगलबजारस्थित कृष्ण मन्दिरको शैलीमा श्री वंशज गोपाल दुई गोपिनीसहितको १३ वटा सुनको गजुरको मन्दिर कोवहाल टोल, ललितपुर नगर (तत्कालीन राज्य) मा निर्माण गरिएको थियो ।

आफ्नै टोलमा कृष्ण मन्दिर भएको कारण पनि शायद स्व. तुल्सीमेहरले यस पूजाको विधिवत् शुरुवात गरेको हो कि भन्ने लाग्छ । यस जात्रा प्रारम्भमा जन्माष्टमीको राति १२ बजे अथवा कृष्णको जन्म समयमा प्रारम्भ गरी ललितपुर नगरक्षेत्रको श्रीकृष्णका देवालयमा पूजा–आराधनासहित नगर परिक्रमा गर्ने भएकोमा रात्रि समयमा परिक्रमा गर्न सरल नभएको कारण नगरवासीहरूको सल्लाहमा जन्माष्टमीको भोलिपल्ट परिक्रमा गर्ने व्यवस्था गरिएको थियो ।

श्रीकृष्ण पूजा परिक्रमा व्यवस्थित एवम् बृहत्रुपमा मनाउने प्रयासस्वरुप आठवटा प्रमुख टोलहरुमा विभाजित गरेर पालैपालो सञ्चालन भइरहेका छन् । विभिन्न टोलको पालोको तालिका यस अनुसार छ– कोवहाल, मंगलबजार, सुन्धारा, चक्रवहिल, पूर्णचण्डी, पुल्चोक, पिम्वहाल र धलायचा । परिक्रमा अवसरमा जम्मा २१८ स्थानको लागि भाग व्यवस्था गर्नुपर्ने हुन्छ । यस पूजा व्यवस्थापनको लागि ललितपुर नगरमा एक केन्द्रीय स्तरको एक प्रबन्ध समिति गठन गरिएको छ । प्रदान गरेको रकमबाट एक अक्षय कोषसमेत खडा गरेको छ । त्यस कोषबाट प्राप्त ब्याजबाट केही नगद सहयोग श्रीकृष्ण पूजा सञ्चालन खर्चबापत दिने गरेको छ ।

केन्द्रीय समितिबाट प्राप्त सहयोगको अतिरिक्त श्रीकृष्ण पूजा सञ्चालन गर्ने कार्यभार पाएका टोलले पनि एक स्थानीय कार्यसमिति गठन गरी यस वर्ष भगवान् श्रीकृष्ण पूजा सञ्चालन गर्ने व्यवस्थापनको कार्यभार सम्हालेका कोवहाल टोल, ललितपुर म.न.पा.वडा ९ का बासिन्दाहरुको सहयोगमा यही २०७९ भाद्र ४ गते अर्थात् ने.सं. ११४२ गुंलागा नवमी शनिबारका दिन भगवान् श्रीकृष्ण पूजा परिक्रमा सञ्चालन गर्न व्यवस्थापन गरिरहेका छन् । पूजा टोलीका साथै बाजागाजा र श्रद्धालु भक्तजनहरुसहित निस्कने यस परिक्रमा सञ्चालन भएको ९१ वर्ष भैसक्यो । यस बृहत् जात्रालाई लोप हुन नदिई स्थानीय सरकार अर्थात् महानगरपालिका तथा नेपाल सरकारका सम्बन्धित मन्त्रालय एवम् सञ्चालन व्यवधानरहित बनाउन जिल्ला प्रशासनसहितको सुरक्षामा यस श्रीकृष्ण पूजाको परिक्रमा गरी व्यवस्थापन गर्न सकिन्छ ।

राजा सिद्धिनरसिंह मल्ल तत्कालीन अवस्थामा मात्र नभई हालसम्म पनि ललितपुरवासीहरूको हृदयमा छाएको आभास छ । तत्काल र पछि पनि ललितपुरको विभिन्न स्थानमा श्रीकृष्ण मन्दिरहरू निर्माण भएका थिए । यस्तै एक मन्दिर ललितपुरको कोवहाल टोलमा रुक्मिणी सत्यभामासहितको मूर्ति भएको भगवान् श्रीकृष्ण मन्दिर छ । स्व. तुल्सीमेहर श्रेष्ठको निवासस्थान क्षेत्रमै श्रीकृष्ण मन्दिर पनि भएको र ललितपुरका जनमानसको मनमा छाएको भगवान् श्रीकृष्णप्रतिको भक्तिका कारण पनि यो जात्रा शुभारम्भ गर्न थप प्रेरणा मिलेको हुन सक्छ ।

यस पूजा व्यवस्थापनको लागि ललितपुर नगरमा एक केन्द्रीय स्तरको एक प्रबन्ध समिति गठन गरिएको छ भने केही रकम ललितपुर नगरपालिका, श्री सुन्दरलाल खड्गीलगायत अन्य महानुभावहरुले प्रदान गरेको रकमबाट एक अक्षय कोषसमेत खडा गरेको छ । त्यस कोषबाट प्राप्त ब्याजबाट केही नगद सहयोग श्रीकृष्ण पूजा सञ्चालन खर्चबापत दिने गरेको छ । केन्द्रीय समितिबाट प्राप्त सहयोगको अतिरिक्त श्रीकृष्ण पूजा सञ्चालन गर्ने कार्यभार पाएका टोल वा क्षेत्रले पनि एक स्थानीय कार्य समिति गठन गरी श्रद्धालु भक्तजनहरू तथा संघसंस्थाबाट थप आर्थिक सहयोग जुटाउनुका अतिरिक्त स्थानीय युवायुवतीसमेत परिचालन गरी यस परिक्रमालाई व्यवस्थित गर्न कोशिश गर्ने गरिएको छ ।

यस वर्ष भगवान् श्रीकृष्ण पूजा सञ्चालन गर्न कार्यभार संहालेका कोवहाल टोल, ललितपुर उ.म.न.पा.वडा ९ का बासिन्दाहरू ललितपुर नगरवासीहरुको सहयोगमा यही २०७१ भाद्र २ गते अर्थात् ने.सं. ११३४ गुंलागा अष्टमी सोमबारका दिन भगवान् श्रीकृष्ण पूजा परिक्रमा सञ्चालन गर्न व्यवस्थापन गरिरहेको छ । पूजा टोलीका साथै बाजागाजा र श्रद्धालु भक्तजनहरुसहित निस्कने यस परिक्रमा सञ्चालन भएको झन्डै ९१ वर्ष भैसक्यो । यस जात्रा ७–८ घण्टामा सकिने हुँदा त्यस्तो कठिन यात्रा पनि नहुने भएकाले श्रीकृष्ण पूजा प्रबन्ध समितिको केन्द्र एवम् क्षेत्रीय इकाइहरुको छलफलबाट अझ स्तरीय बनाउन सकिन्छ ।

Facebook Comments Box