• ललितपुर,नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रशिक्षण शाखाले सांगठनिक सुदृढीकरण तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रमको वाग्मती प्रदेशका उपसभापति एवं बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनले उद्घाटन गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ, सचिव वशिष्ठ अधिकारी, सहसचिव ऋषि देव फुयाँल, कोषाध्यक्ष दिलमन खड्का, क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्वर थापा, प्रशिक्षण शाखाका सदस्यहरु, जिल्लाका ७१ वटा वडा कार्यसमितिका सभापति एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

एकदिने प्रशिक्षण कार्यक्रमलाई तीन सेशनमा विभाजन गरिएको थियो। पहिलो उद्घाटन सत्र र बाँकी २ सेशन प्रशिक्षण राखिएको थियो। कार्यक्रमको सभापतित्व जिल्ला कार्यसमिति ललितपुरका उपसभापति एवं प्रशिक्षण शाखा प्रमुख सुदर्शन घिमिरेले गरेका थिए।

 

नेपाली कांग्रेसको सांगठनिक संरचना ज्ञान र सीप बिषयमा त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक निश्चल रिसाल र जिल्ला सचिव वशिष्ठ कुमार अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणलाई फरक तरिकाबाट प्रस्तुत गरिएको थियो। नेपाली कांग्रेस ललितपुर ७१ वटा वडाका वडा सभापति एवं प्रतिनिधिहरुलाई नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपि कोइराला, सुवर्णशमशेर जबरा, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुशिल कोइराला र वर्तमान केन्द्रीय सभापति शेर बहादुर देउवाको नाममा समुहमा विभाजन गरेर वडा कार्यसमितिले गरेका सांगठनिक गतिविधि, चुनावि रणनीति तयार पारिएको थियो।

 

दोस्रो सेशनको सेशन अध्यक्षता प्रशिक्षण शाखाका सदस्य गोविन्द पराजुलीले गरेका थिए।

कार्यक्रमको तेस्रो सेशनमा चुनाव केन्द्रित रणनीतिक योजना निर्माण र अभ्यासका बिषयमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.गोपाल थापा र प्रशिक्षण शाखाका प्रमुख सुदर्शन घिमिरेले प्रशिक्षण दिएका थिए।यो सेशनको सेशन अध्यक्षता प्रशिक्षण शाखाका उप प्रमुख जलकृष्ण सिंहले गरेका थिए।

 

कार्यक्रममा प्रशिक्षण शाखाका प्रमुख सुदर्शन घिमिरेले वडा कार्यसमिति नेपाली कांग्रेसको आधार स्तम्भ भएको र कांग्रेसलाई बलियो बनाउन यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले स्थानीय चुनाव जिताउन वडा सभापतिहरुले उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै प्रदेश र संघको निर्वाचन केन्द्रित रहेर काम गर्न वडा कार्यसमिति सभापतिहरुलाई निर्देशन दिए।

उनले विगतमा भएका कमीकमजोरी सच्याएर अघि बढ्न आग्रह गरे। सभापति श्रेष्ठले पार्टी र नेताका बारेमा सामाजिक सञ्जालमा गलत र भ्रामक प्रचार प्रसार गर्ने कार्य बढेकाले त्यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताए। उनले पार्टीका उम्मेदवार हराउन कोही नेता, कार्यकर्ता लागे यथासिघ्र कार्वाही गरिने बताए।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख चन्द्र महर्जनले बागमती प्रदेशका १३ वटा जिल्लाहरू मध्ये प्रशिक्षण शाखा गठन गर्ने र प्रशिक्षण कार्यक्रम राख्ने ललितपुर पहिलो जिल्ला भएकोमा खुसी व्यक्त गर्दै प्रशिक्षणले पार्टी सुदृढीकरणमा मद्दत पुग्ने बताए। उनले प्रशिक्षण नेता कार्यकर्ता सबैलाई आवश्यक रहेको बताए।

Facebook Comments Box