नवौँ  गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैशवालले जित्नुभएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना दिवशको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा रुपेशले क्यान्डीडेट मास्टर मिलन लामासँग क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेल्नुभएको थियो । 

क्लासिकलमा १–१ अङ्कको बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । त्यसपछि रुपेशले मिलनलाई २–० ले हराउनुभयो । उपाधिसँगै रुपेशले दुई लाख ५३ हजार रुपियाँ बराबरको यामाहा सेलुटो मोटरसाइकल पुरस्कार पाउनुभयो । उपविजेता मिलनले ८० हजार रुपियाँ पाउनुभयो । 

यस्तै फिडेमास्टर क्षितिज भण्डारी तेस्रो बन्दै ५० हजार पाउनुभयो । उहाँले पुरुषोत्तम सिलवाललाई हराउनुभएको हो । चौथो हुनुभएको सिलवालले ३० हजार रुपियाँ पाउनुभयो । 

नकआउट बाहेक लिग स्पर्धामा आयोजक क्लबका सजिन महर्जन पहिलो हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । सर्लाहीका कमल श्रेष्ठ दोस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पाउनुभयो । तेस्रो हुनुभएका निकेश कुशाथाले १० हजार रुपियाँ पाउनुभयो । कूल ६ लाख ३५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुषमा शीर्ष १० मा रहनेलाई नगद पुरस्कार प्रदान गरियो । 

यस्तै महिलातर्फ सिन्दिरा जोशी पहिलो हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । मोरङकी शान्ति धिमाल दोस्रो र काठमाडौँकी पूर्णिामा गुरुङ तेस्रो हुनुभयो । प्रतियोगितामा ४० जिल्लाका एक सय १२ जना शीर्ष खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । 

विजेतालाई पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।