आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गोदावरी नगरपालिकाको-१० टाहाखेल-झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा बुधबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५-३ गोलले पराजित गर्दै गोदावरीको टिम बि ले अन्तिम आठमा स्थान बनाएको हो ।​

आयोजक गोदावरी बि का जितका लागि राजन मर्हजन, श्रीराम थापा, प्रज्वल श्रेष्ठ, मनिष तिमल्सिना, अनिल लामा बोम्जनले गाेल गरे । महानगरका निरोज महर्जन, सुबिबेक मल्ल र आर्यन थापा मगरले गोल गरे। यो खेलमा गोदावरीका अनिल लामा बोम्जन उत्कृष्ट खेलाडी भए। उनलाई ललितपुरका मेयर चिरीबाबु महर्जनले ट्रफी र नगदसहित सम्मान गरे ।

बुधबार नै सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टीमै ४-२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । बुढानिलकण्ठलाई पेनाल्टिमा ४-२ अन्तरले पाखा लगायो। ९० मिनेटसम्मको खेलमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।

प्रतियोगितामा गोदावरी बि, काठमाडौं महानगर, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका अन्तिम ८ मा पुगेका छन् ।

अब शुक्रबार दिउँसो साढे १२ बजे नागार्जुन र चन्द्रागिरीबीच खेल हुनेछ । नागार्जुनले कोन्ज्योसोम गाउँपालिकालाई ३-० ले हराएर अन्तिम आठमा पुगेको थियो । यस्तै दिउँसो साढे ३ बजे महालक्ष्मी र दक्षिणकालीबीच प्रतिस्पर्धा हुनेछ। महालक्ष्मीले गोदावरी ए लाई हराए र दक्षिणकाली सोझै बाइ पाएर अन्तिम आठमा पुगेकाे हाे ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।