प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो ।सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उहाको भनाइ छ । उहाले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो । उहाले सूचनाप्रविधिमार्फत घरमै बसेर अधिकांश सरकारी सेवा लिने सक्ने गरि काम सुरु भसकेको बताउनुभयो । शर्माले सूचना प्रविधि आर्थिक समृद्धिको आधारको रुपमा बिकसित हुदै गएको धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको हो ।