नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा आयोजना हुनेभएको छ ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यहि बैशाख २६ देखि ३० गते सम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महोत्सवको आयोजना गरिएको जनाएको हो ।

‘‘खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महासंघका अध्यक्ष उमेशप्रसाद सिहले जानकारी दिनुभयो । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसी , बीटुजी जस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने उहाले बताउनुभयो ।

भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागीता रहने महोत्सवमा २ सय ५० वटा स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।