राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। 

“गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो । उहाँले यसबाट प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र  होइन परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नसमेत सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मूलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक रहेको बताउनुभयो । साथै उहाँले महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।